ad ad

समाज


आज वर्षाको सम्भावना कता कस्तो छ?

आज वर्षाको सम्भावना कता कस्तो छ?

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
भदौ २, २०८० शनिबार ७:५, काठमाडौँ

यतिबेला (शनिबार बिहान) देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले दिएको जानकारीअनुसार अहिले ताप्लेजुङ, सोलुखुम्बु, लमजुङ, म्याग्दी, कालीकोट र बैतडीमा हल्का पानी परिरहेको छ।  

मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशको पहाडी भेगका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

यस्तै राति कोशी , बागमती  र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। 

मौसम महाशाखाले आगामी २४ घण्टा (आइतबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ– देशको पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना छ। यसका कारण नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

काठमाडौंमा हल्का वर्षा
आज काठमाडौं उपत्यकामा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। 

मौसम महाशाखाकी मौसमविदि शान्ति कँडेलले भनिन्, ‘आज दिउँसोतिर काठमाडौं उपत्यकामा हल्का वर्षा हुने सम्भावना देखिएको छ।’

सोमबारदेखि पश्चिममा वर्षा बढ्ने
आगामी सोमबारदेखि देशको पश्चिमी क्षेत्रमा वर्षाको मात्रा बढ्ने अनुमान गरिएको छ। 

मौसमविद् कँडेलले भनिन्, ‘सोमबारदेखि देशको पश्चिमी क्षेत्रमा वर्षाको मात्रा बढ्ने सम्भावना देखिएको छ।’

मौसमी भाषाको अर्थ
मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ। अनि २ सय मिलिमिटरदेखि माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ। 

यस्तै सम्बन्धित क्षेत्रको १० प्रतिशत भूभागमा मात्रै वर्षा हुनुलाई एक/दुई स्थान, १० देखि ३० प्रतिशत भूभागमा पानी पर्नुलाई थोरै स्थान, तोकिएको क्षेत्रको ३० देखि ५० प्रतिशत भूभागमा वर्षा हुनुलाई केही स्थान, ५० देखि ८० प्रतिशत भूभागमा पानी पर्नुलाई धेरै स्थान, ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुनुलाई अधिकांश स्थानमा वर्षा हुने भनेर बुझ्नुपर्ने मौसमविद् बताउँछन्।

यस्तै मौसम महाशाखाले दिउँसो भन्नाले खासमा दिनको अर्थमा प्रयोग गरेको छ। दिउँसो भनेको बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको समय बुझ्नुपर्ने मौसमविद् बताउँछन्। यस्तै राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयलाई बुझ्नुपर्ने मौसमविद्को भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .