ad ad

समाज


सबै प्रदेशमा वर्षा जारी, मौसमविद्ले जारी गरे २४ घण्टे चेतावनी

सबै प्रदेशमा वर्षा जारी, मौसमविद्ले जारी गरे २४ घण्टे चेतावनी

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
साउन ३२, २०८० बिहिबार ७:२५, काठमाडौँ

यतिबेला (बिहीबार बिहान सवा ७ बजे) देशभर विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्। 

मौसमविद् गोविन्द झाका अनुसार अहिले गण्डकी प्रदेशका धेरै स्थान, बागमती, मधेश र कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको हो। 

‘रातिदेखि नै वर्षा भइरहेको छ’, मौसमविद् झाले बिहीबार बिहान भने, ‘अहिले कतिपय ठाउँमा रोकिएको छ, राति गण्डकी र बागमती प्रदेशमा त भारी वर्षा पनि भएको थियो।’

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो पनि देशभर विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ। दिउँसो देशको पहाडी भूभागको केही स्थान र बाँकी भूभागको थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै कोशी र बागमती  प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

बुलेटिनअनुसार राति कोशी, मधेश र गण्डकी प्रदेशको केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै कोशी र गण्डकी  प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टा (शुक्रबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ– देशको पहाडी भूभागको केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना छ। साथै कोशी, बागमती  तथा गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। यसका कारण नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ।

काठमाडौंमा हल्का वर्षाको सम्भावना
मौसमविद् गोविन्द झाका अनुसार आज काठमाडौं उपत्यकामा हल्का वर्षाको मात्र सम्भावना देखिएको छ। 

‘काठमाडौं उपत्यकामा पनि दिउँसोतिर हल्का खालको वर्षा हुने सम्भावना छ’, उनले भने, ‘उपत्यकाका सबै ठाउँमा एकनासको हुँदैन, कतै कतै क्षणिक वर्षा हुने सम्भावना देखिएको छ।’ 

मौसमी भाषाको अर्थ
मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ। अनि २ सय मिलिमिटरदेखि माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ। 

यस्तै सम्बन्धित क्षेत्रको १० प्रतिशत भूभागमा मात्रै वर्षा हुनुलाई एक/दुई स्थान, १० देखि ३० प्रतिशत भूभागमा पानी पर्नुलाई थोरै स्थान, तोकिएको क्षेत्रको ३० देखि ५० प्रतिशत भूभागमा वर्षा हुनुलाई केही स्थान, ५० देखि ८० प्रतिशत भूभागमा पानी पर्नुलाई धेरै स्थान, ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुनुलाई अधिकांश स्थानमा वर्षा हुने भनेर बुझ्नुपर्ने मौसमविद् बताउँछन्।

यस्तै मौसम महाशाखाले दिउँसो भन्नाले खासमा दिनको अर्थमा प्रयोग गरेको छ। दिउँसो भनेको बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको समय बुझ्नुपर्ने मौसमविद् बताउँछन्। यस्तै राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयलाई बुझ्नुपर्ने मौसमविद्को भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .