सोमबार दिउँसो प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव बढ्दै गएको छ। जसका कारण आज (मंगलबार) देशभर मौसम बदली भएको छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना छ। यसैगरी पश्चिमी भेगका केही स्थानमा हल्का वर्षाको पनि सम्भावना छ।
‘मध्य र पूर्वी क्षेत्रमा पनि मौसम आंशिकदेखि पूर्ण बदली भएको छ,’ मौसमविद् बासीले मंगलबार बिहान नेपालखबरसँग भनिन्, ‘तर यी क्षेत्रमा पानी पर्ने सम्भावना देखिएको छैन।’
तर मध्य र पूर्वका पनि उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना भने रहेको उनले बताइन्।
काठमाडौंमा पानी पर्ला?
यतिबेला काठमाडौं उपत्यकामा पनि मौसम बदली भएको छ। उपत्यकामा आज दिनभर घाम लाग्ने सम्भावना नरहेको मौसमविद् बासीले जानकारी दिइन्।
‘तर यहाँ वर्षाको सम्भावना भने छैन,’ उनले भनिन्।
आज बिहान ५:४५ को रेकर्डअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस रहेको उनले जानकारी दिइन्।
तराईमा अब हुस्सु हट्ने
अहिले मध्य र पूर्वी तराईमा हुस्सु/कुहिरो लागिरहेको छ। तर पश्चिमी तराईमा भने मौसम बदली भएका कारण हुस्सु नलागेको मौसमविद् मञ्जी बासीले बताइन्।
उनका अनुसार खासगरी पूर्वी तराईमा बाक्लो हुस्सु लागिरहेको छ।
‘मौसम बदली भएकाले पश्चिमी तराईमा हुस्सु/कुहिरो नलागेको हो,’ उनले भनिन्, ‘मध्य र पूर्वी तराईका हुस्सु र कुहिरो पनि दिउँसोदेखि हट्नेछ।’
पश्चिमी वायुबाट विकसित न्यून चापीय प्रणालीका कारण मौसम बदली भई आकाशमा बादल लागेपछि हुस्सु/कुहिरो नलाग्ने मौसमविद्को भनाइ छ।
यस हिसाबले आगामी एक/दुई दिन तराईका बासिन्दाले हुस्सु/कुहिरोबाट मुक्ति पाउने देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दैै भनेको छ : उच्च हिमाली भेगका हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना साथै देशका अधिकांश भूभागमा सामान्य बदली रहने भएकाले चिसोबाट बच्न हुन सर्वसाधारण सबैलाई अनुरोध छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान :
माघ ७ गते (मंगलबार)
दिउँसो : देशका अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। पश्चिमी भेगका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ।
राति : देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। उच्च हिमाली भेगमा हिमपातको सम्भावना छ।
माघ ८ गते (बुधबार)
दिउँसो : मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।
राति : मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।
माघ ९ गते (बिहीबार)
दिउँसो : मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।
राति : देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
स्राेत : माैसम पूर्वानुमान महाशाखा

प्रतिक्रिया