ad ad

समाज


सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट सातौं एपीएफ कमान्ड तथा स्टाफ कोर्षको समापन

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट सातौं एपीएफ कमान्ड तथा स्टाफ कोर्षको समापन

नेपालखबर
साउन २६, २०८० शुक्रबार १७:२७, काठमाडौँ

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सातौं एपीएफ कमान्ड तथा स्टाफ कोर्षको प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित दिक्षान्त समारोहका बीच समापन गरेका छन्।

समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र समारोहका विशेष अतिथि त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रोफेसर डा. कुशुम शाक्यले एपीएफ कमान्ड तथा स्टाफ कलेज काठमाडौंमा सञ्चालित सो कोर्षमा सर्वोत्कृष्ट भएका सशस्त्र प्रहरी नायव उपरीक्षक सचिन कर्मचार्यलाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष’, ‘बेस्ट रिसर्च अवार्ड’ र ‘बेस्ट एकेडेमी अवार्ड’ प्रदान गरेका थिए।

कार्यक्रममा महानिरीक्षक अर्यालले प्रशिक्षार्थी अधिकृतहरुलाई उक्त कोर्षको अध्यापन गराउने कार्यमा विशेष भूमिका निर्वाह गर्नेे डा.सोहन कुमार कर्ण, डा.नरेश रिमाल र नारायण अधिकारीलाई प्रशंसापत्र समेत प्रदान गरे।

उनले यस प्रकारको शैक्षिक र व्यावसायिक शिक्षाले संगठनमा आवद्ध अधिकृतहरुको व्यक्तित्व विकास गर्नुको साथै सकारात्मक सोच, उदाहरणीय तथा योग्य कमाण्डर निर्माणमा अहम भूमिका खेल्ने विश्वास व्यक्त गरे।

उनले सशस्त्र प्रहरी अधिकृतहरुले कोर्ष समापन पश्चात व्यावसायिक जीवनमा उपलब्धी हासिल गर्दै सांगठनिक विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै कार्यक्षेत्र परिचालित हुँदा सांगठनिक लक्ष्य प्राप्तीमा नेतृत्वदायी र प्रेरणादायी भूमिका निर्वाह गरी त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिए।  

समारोहमा विशेष अतिथि त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रोफेसर डा. कुशुम शाक्यले सुरक्षा चुनौतीहरुलाई सहज ढंगले परास्त गर्न शैक्षिक एवं व्यावसायिक ज्ञान अपरिहार्य रहने उल्लेख गर्दैै सशस्त्र प्रहरी अधिकृतहरुको नेतृत्व विकास तथा क्षमता अभिबृद्धि गराउन कोर्ष फलदायी रहने विश्वास व्यक्त गरे।

एपीएफ कमान्ड तथा स्टाफ कलेजको २०७१ साल फागुन २० गते स्थापनासँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौती र सुरक्षा रणनीति, द्वन्द्व व्यवस्थापन, संयुक्त राष्ट्रसंघीय पद्धती, नेतृत्व र विकास, चुस्त तथा व्यवस्थित रुपमा फौजको परिचालन, सीमा सुरक्षा, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, विपद् व्यवस्थापनलगायत सुरक्षा, विकास र शान्ति जस्ता विविध विषयहरुबारे प्रशिक्षण गर्दै आइरहेको छ। सो कोर्ष त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायमा सुरक्षा, विकास र शान्ति अध्ययनमा स्नातकोत्तर (डिग्री)को मान्यता प्राप्त रहेको छ।  

सो कोर्षमा प्रशिक्षार्थी अधिकृतहरुलाई कार्यशाला गोष्ठी, विशेषज्ञहरुसँग अन्तरक्रिया लगायतका शैक्षिक र व्यावसायिक गतिविधिहरुमा सहभागिता गराउनुकासाथै स्वदेश तथा विदेशमा अध्ययन भ्रमणसमेत गराईएको थियो।

१५ महिना अवधिको सो कोर्षमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक १, सशस्त्र प्रहरी उपरीक्षक ३ र सशस्त्र प्रहरी नायव उपरीक्षक ४ जनाको सहभागिता रहेको थियो।

समारोहमा अनुसन्धानमा आधारित लेख, सुरक्षा, विकास, विपद्, देशको सीमानालगायत अन्य समसामयिक विषयहरु समेटिएको एपीएफ कमाण्ड तथा स्टाफ कलेजको जर्नल अनावरणसमेत गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .