ad ad

समाज


मनसुनी रेखा अझ नेपालनजिक आउँदै, शनिबारदेखि वर्षा अरू बढ्ने सम्भावना

मनसुनी रेखा अझ नेपालनजिक आउँदै, शनिबारदेखि वर्षा अरू बढ्ने सम्भावना

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
साउन २६, २०८० शुक्रबार ७:१५, काठमाडौँ

मनसुनको न्यून चापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालको थप नजिक आउने र शनिबारदेखि वर्षाको मात्रा थप बढ्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार केही दिनदेखि न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तर अर्थात् नेपाल नजिक नै छ। ‘भोलि (शनिबार) बाट थप नेपालनजिक हुने र वर्षा अरू बढ्ने सम्भावना देखिएको छ’, उनले भनिन्। 

मौसमविद्का अनुसार मनसुनको न्यून चापीय रेखा जति नजिक भयाे, उति वर्षा बढ्छ भने टाढा हुँदा घट्छ। 

मौसमविद् कँडेलका अनुसार यतिबेला (शुक्रबार बिहान) कोशी प्रदेशका एक/दुई स्थान, सिन्धुपाल्चोक, म्याग्दी, बर्दिया र आसपासका क्षेत्रमा वर्षा भइरहेको छ। ‘काठमाडौं उपत्यकामा भने अहिले कतै पानी परेको छैन’, उनले भनिन्, ‘दिउँसोतिर भने हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।’ 

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोशी, मधेश र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भने मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

महाशाखाको बिहानी बुलेटिनअनुसार राति पनि कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टा (शनिबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ– ‘कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा साथै बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

यसका कारण नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .