समाज


भोलिसम्म भारी वर्षा

भोलिसम्म भारी वर्षा

मंगलबार बिहान टेकुमा देखिएको बाढी। तस्बिर : सरोज बैजु


नेपालखबर
साउन २३, २०८० मंगलबार १३:१८, काठमाडौँ

देशका विभिन्न स्थानमा वर्षा हुने क्रम जारी छ। यस क्रममा काठमाडौं उपत्यकासहित देशका कतिपय स्थानमा भारीदेखि अति भारीसम्म वर्षा भएको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार भोलि (बुधबार) सम्म भारी वर्षा हुने क्रम जारी हुने देखिएको छ। 

‘अहिले मनसुनको न्यून चापीय रेखा (पानी पार्ने प्रणाली) नेपाल आसपास नै छ’, उनले मंगलबार दिउँसो नेपालखबरसँग भने, ‘त्यसैले कम्तीमा भोलिसम्म भारी वर्षा हुने सम्भावना छ।’

उनले थपे, ‘पर्सि (बिहीबार) देखि वर्षा कम हुँदै मौसम सुध्रिने अहिलेसम्मको अनुमान छ।’

मौसम महाशाखाका अनुसार आज (मंगलबार) र भोलि (बुधबार) यस्तो छ वर्षाको सम्भावना– 

साउन २३ गते मंगलबार (आज)
दिउँसो : कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। मधेश, बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ। मधेश र बागमती प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।

राति : कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। मधेश, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ। कोशी प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ।

साउन २४ गते बुधबार
दिउँसो : देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ।

राति : कोशी, मधेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। लुम्बिनी प्रदेश र मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ। 

महाशाखाले आगामी २४ घण्टा (मंगलबार बिहान ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ– कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मधेश, बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। मधेश, बागमती प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ। यसका कारण नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय तथा हावाहुरीजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad