ad ad

समाज


धरानको खानेपानीमा दिसामा पाइने जीवाणु, मेयर साम्पाङको जिद्दी : पानी सुरक्षित छ, राजनीतिक फन्डा नगर्नू

धरानको खानेपानीमा दिसामा पाइने जीवाणु, मेयर साम्पाङको जिद्दी : पानी सुरक्षित छ, राजनीतिक फन्डा नगर्नू

नेपालखबर
साउन १९, २०८० शुक्रबार १३:८, काठमाडौँ

खानेपानी बोर्डले धरान उपमहानगरपालिका क्षेत्रमा वितरण गर्दै आएको प्राकृतिक मुहान र ट्याङ्कीको खानेपानीमा दिसापिसावमा पाइने विषाक्त जीवाणु 'कोलिफर्म' भेटिएको छ।

मेयर हर्क साम्पाङको पहलमा सर्दु र खर्दुसहित स्थानीय साना खोला र खोल्साबाट ल्याइएको पानीमा अत्यधिक मात्रामा दिसामा पाइने जीवाणु भेटिएको हो। 

केही खोला-खोल्सासहित ६ वटा मुहानको पानी शुद्धीकरण नगरी पिउनै नहुने अवस्थाका पाइएको हो। खानेपानी मन्त्रालयअन्तर्गत इटहरीस्थित पानीको गुणस्तर परीक्षण प्रयोगशालामा परीक्षण गर्ला सबैभन्दा बढी भालु खोलाबाट विजयपुर गौधारा ट्याङ्कीमा झारिएको पानीमा कोलीफर्मको मात्रा ३५ युनिटसम्म पाइएको हो। 

त्यसैगरी धरानको फुस्रेस्थित ट्याङ्कीको पानीमा कोलिफर्मको मात्रा ३० युनिट भेटिएको छ। 

उता मेयर साम्पाङकै पहलमा खसालिएको निशाने खोलाको पानीमा कोलिफर्म २० युनिट मात्रामा पाइएको छ। त्यस्तै सर्दु खोलाको पानीमा कोलिफर्म १० युनिट भेटिएको छ। अर्को खर्दुखोलाको पानीमा पनि कोलिफर्म १५ युनिट भेटिएको छ। 

करिब ४२ किलोमिटर पर कोकाहा खोलाबा ल्याएको पानीमा पनि कोलिर्फम ५ युनिट भेटिएको छ। धरान उपमहानगरपालिका १७ स्थित कुम्भी आहालमा जमिनबाट निकालिएको पानीमा कोलिफर्म भेटिएन।

कोलिफर्म शून्य रहेको पानी मात्रै खानयोग्य मानिन्छ। धरानमा फैलिएको डेंगु महामारी शुद्धीकरण नगरी वितरण गरिएको खानेपानीका कारण फैलिएको आशंका गरिएको थियो।

त्यसपछि धरानस्थित टोल विकास संस्थाका अगुवाहरूको पहलमा राष्ट्रिय स्वतन्त्र पार्टी, धरान नगर समितिले सात स्थानको पानी संकलन गरी परीक्षणका लागि ल्याबमा बुझाएको थियो। 

प्रयोगशालाले दिएको प्रतिवेदन बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीले मेयर हर्क साम्पाङलाई ध्यानाकर्षण बुझाएको छ।

रास्वपा नगर सभापति राजेशमान श्रेष्ठको नेतृत्वमाको टोलीले ज्ञापनपत्र बुझाउँदै धरानमा डेंगु रोग फैलिनुको कारण प्रदूषित पानी भएको गुनासो आएपछि परीक्षण गरिएको जनाएका छन्।

कोलिफर्मयुक्त पानीले झाडापखाला, नुहाउँदा हातमुख धुँदा चिलाउने खटिरा आउने हुन्छ। यसले मानिसलाई लगातार बिरामी बनाउने अवस्था ल्याउँछ।

धरानमा डेंगुका विरामीको लक्षण झाडा, पखाला, बान्ता आउने, जिउका छालामा घुमाउरो जस्तो डाबर आउने छन्। त्यसको कारण कोलिफर्मयुक्त प्रदूषित पानी रहेको आशंका उपभोक्ताले गरेका थिए। 

आफ्नै जिद्दीमा मेयर
प्रतिवेदन बुझ्ने क्रममा मेयर साम्पाङले खानेपानीको गुणस्तरभन्दा परिमाण बढाउन लागेको बताए। पानीको पर्याप्त व्यवस्था गरेर गुणस्तर सुधार्ने उनको तर्क थियो। 

मेयर साम्पाङले पानीका कारण डेङ्गु नलाग्ने जिकिर गरे। लामखुट्टेको टोकाइबाट मात्रै डेंगु लाग्ने उनले बताए। 

उनले खानेपानीमा कोलिफर्म भेटिएको विषयलाई ठाडै इन्कार गरेका छन्। 

‘धरानको हावा पनि परीक्षण गर्नु होला। शुद्ध अक्सिजनको मात्र कति छ? धुलो र कार्बनडाइअक्साइड र मोनोक्साइडको मात्रा कति छ? जाँचेर मलाई दोष लगाउनू’, उनले भनेका छन्, ‘खानेपानी बोर्डको पानी नखाने चिण्डे डाँडा, विष्णुपादुका, पानबारी र देउराली तिर मान्छे बिरामी हुनुको कारण हावामै जीवाणु भएर हो।’ 

उनले खानेपानी पूरै सुरक्षित रहेको जिकिर गरे। ‘खानेपानी सुरक्षित छ। राजनीतिक फण्डा मात्रै हो। हावाको गफमा नभुल्नु’, उनले भनेका छन्, ‘डेङ्गुको लार्भा खोजेर नष्ट गर्नु होला। ऐरे गैरे नत्थु खैरेको कुरा सुन्ने होइन। नगरप्रमुखको कुरा चाहिँ आधिकारिक हो। अरु त पराजित मानसिकताको पराकाष्ठा मात्रै हुन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .