ad ad

समाज


पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरीको पनि खतरा

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरीको पनि खतरा

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
साउन १९, २०८० शुक्रबार ७:११, काठमाडौँ

आज (शुक्रबार) देशभर मौसम बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस क्रममा कतिपय स्थानमा भारी वर्षा र हावाहुरीको समेत सम्भावना रहेकाले सजगता अपनाउन सुझाव दिइएको छ। 

महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। साथै लुम्बिनी, गण्डकी र बागमती प्रदेशका तराई क्षेत्र र मधेश प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै राति सुदूरपश्चिम प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। साथै कोशी प्रदेशको तराई क्षेत्र र मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। 

काठमाडौंमा हल्का वर्षाको सम्भावना
काठमाडौं उपत्यकामा पनि आज दिनभर मौसम बदली (आकाशमा बादल) र वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आज काठमाडौं उपत्यकामा हल्का वर्षाको मात्र सम्भावना छ।

‘आज काठमाडौं उपत्यकाको मौसम आंशिकदेखि सामान्यसम्म बदली हुने देखिन्छ’, उनले भने, ‘दिउँसो, अपराह्नतिर हल्का वर्षाको सम्भावना छ।’

मौसम महाशाखाले आगामी २४ घण्टा (शनिबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गरेको छ। 

जसमा भनिएको छ– देशको पहाडी भूभागको केही स्थान र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका तराई भूभाग र मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ। यसका कारण नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय तथा हावाहुरीजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

मौसमी भाषाको अर्थ
मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ। अनि २ सय मिलिमिटरदेखि माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ। 

यस्तै सम्बन्धित क्षेत्रको १० प्रतिशत भूभागमा मात्रै वर्षा हुनुलाई एक/दुई स्थान, १० देखि ३० प्रतिशत भूभागमा पानी पर्नुलाई थोरै स्थान, तोकिएको क्षेत्रको ३० देखि ५० प्रतिशत भूभागमा वर्षा हुनुलाई केही स्थान, ५० देखि ८० प्रतिशत भूभागमा पानी पर्नुलाई धेरै स्थान, ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुनुलाई अधिकांश स्थानमा वर्षा हुने भनेर बुझ्नुपर्ने मौसमविद् बताउँछन्।  

यस्तै मौसम महाशाखाले दिउँसो भन्नाले दिन अर्थात् बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको समयलाई मान्ने गरेको छ भने राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समय हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .