ad ad

समाज


ललितपुरका जग्गा ब्यापारीलाई ‘हनिट्रयाप’मा पार्ने चार जना पक्राउ

पैसा लिन जाँदा प्रहरीले गर्‍यो पक्राउ
ललितपुरका जग्गा ब्यापारीलाई ‘हनिट्रयाप’मा पार्ने चार जना पक्राउ

नेपालखबर
साउन १८, २०८० बिहिबार २२:१७, काठमाडौँ

ललितपुरका एक जग्गा व्यापारीलाई अनिता मगर नामबाट फेसबुकमा फ्रेण्ड रिक्वेस्ट आउँछ। उनले तत्कालै एसेप्ट गर्छन्। त्यसपछि उनीहरूबीच कुराकानी सुरु हुन्छ। 

चिनजान भेटघाट केही नहुँदै उनीहरूबीच माया प्रेमका कुरा सुरु हुन्छन्। अनिताले ती व्यापारीलाई घुमफिरको प्रस्ताव गर्छिन्। व्यापारी मक्ख पर्दै अनितालाई भेट्न गोदावरीको होटलमा पुग्छन्। 

तर ती व्यापारीलाई होटलभित्र लगेपछि युवतीको प्लानका बारेमा थाहा हुँदैन। होटलमा उनीहरूले एउटा कोठा बुक गर्छन्। भित्र पसेर उनीहरूको सामान्य कुराकानी हुन्छ।

त्यसपछि युवती अकस्मात बाहिर निस्किन्छिन्। अनि कोठामा बसिरहेका व्यापारीलाई भन्छिन्, ‘हामीबीचको सबै कुरा मेरा दाजु–भाउजुले थाहा पाउनु भयो। अब उहाँहरूले भने अनुसार तपाईंले गर्नुपर्छ।’

त्यसपछि अनिताका आफन्तले ती व्यापारीलाई टेलिफोन गरेर धम्क्याउन थाले। ५० लाख रुपैयाँ नदिए बलात्कारको मुद्दा लगाइदिने भन्दै धम्क्याएर म्यासेज र फोन गरे। 

तर ती फन्दामा परेका व्यापारीले ५० लाख दिन नसक्ने बताए। अन्ततः उनीहरूबीचमा १० लाख दिएर कुरा मिलाउने सहमती भयो। यो बीचमा ती व्यापारी प्रहरीसम्म पुगे। प्रहरीले उनलाई हनिट्रायपमा परेको बतायो। र पैसा लिन बोलाएर पक्राउ गर्ने तयारी गर्यो। पीडित व्यापारी र प्रहरीले योजना बनाए।

व्यापारीले ३ लाखको चेक दिएका थिए। बाँकी नगदै दिने सहमती गरेर उम्किए। सहमती अनुसारको रकम लिन उनीहरूलाई बालकुमारीको द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनमा बोलाए। 

त्यहाँ जम्मा भएको हनिट्रयापमा संलग्न समूह प्रहरी आउनसक्ने कुरामा सचेत देखिन्थ्यो। भित्र नगद लिन जम्मा हुँदा उनीहरूले बाहिर पनि एकजनालाई राखेका थिए। तर पहिल्यै जानकारी पाइसकेको प्रहरीले सुरुमै उनलाई पक्राउ गर्यो।

त्यसपछि बर्गरहाउसभित्र पसेर बाँकी तीनजनालाई पनि पक्राउ गर्यो। व्यापारीले दिएको चेक र उनीहरूका मोबाइल बरामद गरेको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम साहले बताए। 

घटनामा संलग्न रहेकी झापाको विर्तामोड ९ घर भई हाल काठमाडौं बस्ने २४ वर्षीया अनिता मगर भन्ने सिया मगरसहित तीनजना पक्राउ परेका छन्। 

यस्तै धम्क्याएर रकम अशुल्न पत्रकारको भूमिकामा रहेका सवारी चालक सिन्धुपाल्चोक बलेफी गाउँपालिका ४ मांखा घर भई काठमाडौं बानेश्वर बस्ने दीपक पराजुली पनि पक्राउ परेका छन्। उनले आफू गृहमन्त्रीको प्रेस सल्लाहकार बताउँदै व्यापारीसँग रकम डिमाण्ड गरेको प्रहरीले जानकारी दिएको छ। 

यस्तै ब्ल्याकमेलिङमा संलग्न रहेको आरोपमा राइड सेयरिङ (पठाओ, टुटल) चलाउने २ जना पक्राउ परेका छन्। 

२७ वर्षीय बिमल सुवेदी पनि पक्राउ परेका छन्। सिन्धुपाल्चोक बलेफी ४ का बिमल राइड सेयरिङ (पठाओ, टुटल) चलाउँछन्। उनले पनि म्यासेज तथा भेटेर ब्यापारीसँग रकम माग गरेका थिए। 

सिन्धुपाल्चोककै सुनकोसी गाउँपालिका ७ घर भई हाल भक्तपुर सानोठिमी बस्ने २४ वर्षीय सरोज तिमल्सिना पनि पक्राउ परेका छन्। उनले बर्गर हाउसमा पैसा लिन जाँदा बाहिर निगरानी गरेका थिए। 

उनीहरूले अर्का व्यक्तिलाई पनि यसरी हनिट्रयापमा पारेको खुलेको छ। अर्का व्यापारीले पनि आफ्नो ३ लाख २५ हजार रुपैयाँ उनीहरूले लगेको भन्दै जाहेरी दिएको एसएसपी साहले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .