बकिङ्घम दरबारले राजकुमार ह्यारी र मेगनले अब शाही उपाधि प्रयोग नगर्ने र उनीहरूले नागरिकको करबाट आउने रकम समेत नपाउने घोषणा गरेको छ।
ह्यारी र मेगनले औपचारिक रूपमा महारानीको प्रतिनिधित्व पनि नगर्ने बताइएको छ।
ब्रिटिश राजपरिवारका शाही उपाधिप्राप्त सदस्यहरूलाई ‘रोयल हाइनेस’ भन्ने चलन छ। अब दुवैलाई यस उपाधिबाट सम्बोधन गरिने छैन।
दरबारद्वारा जारी वक्तव्यका अनुसार ‘ड्यूक र डचिस अफ ससिक्स अब राजपरिवारका औपचारिक सदस्य नरहने र उनीहरूले शाही उपाधि प्रयोग गर्ने छैनन्।’
हालै ह्यारी र मेगनले आफूले राजपरिवारको ‘वरिष्ठ सदस्य’ को भूमिका परित्याग गर्ने र आफ्नो समय यूके तथा उत्तर अमेरिकामा बिताउने घोषणा गरेका थिए।
राजपरिवारको एउटा छलफलपछि ब्रिटेनकी महारानी एलिजाबेथले मञ्जुरी दिएकी थिइन्।
नयाँ व्यवस्था यसै वर्षको वसन्त ऋतुदेखि लागू हुने दरबारले जनाएको छ।
ह्यारी र मेगनले ब्रिटेनस्थित आफ्नो घर फ्रोगमोर कटेजुको मर्मतसम्भारका लागि खर्च भएको करदाताको २४ लाख पाउन्ड रकम फिर्ता गर्न चाहेको बताएका छन्।
महारानीले भनेकी छिन्,‘ह्यारी, मेगन र आर्ची सधैँ हाम्रो परिवारका प्रिय सदस्य रहनेछन्।’ बीबीसी

प्रतिक्रिया