ad ad

समाज


मधेश र कोशीको तराईमा वर्षासँगै हावाहुरीको सम्भावना, अरू स्थानमा?

मधेश र कोशीको तराईमा वर्षासँगै हावाहुरीको सम्भावना, अरू स्थानमा?

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
असार ३१, २०८० आइतबार ७:१८, काठमाडौँ

आज (आइतबार) मधेश प्रदेशसँगै देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) हुनेछ भने मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। यस क्रममा कोशी र बागमती प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

साथै आज दिउँसो मधेश प्रदेशलगायत कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ।

महाशाखाका अनुसार राति सबै प्रदेशका केही स्थानमा  हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। बागमती र गण्डकी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। 

महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार आज (आइतबार) मौसम बदली र वर्षा अलि कम हुने र भोलि (सोमबार) देखि बढ्ने सम्भावना छ। ‘हिजो र आज पानी अलि कम पर्ने देखिएको छ’, उनले भनिन्, ‘भोलि र पर्सि फेरि वर्षा बढ्ने सम्भावना छ।’

महाशाखाले आगामी २४ घण्टा (सोमबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गरेको छ। 

जसमा भनिएको छ, ‘सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। साथै मधेश प्रदेशलगायत कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको हुनाले यसबाट सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने देखिन्छ। तसर्थ हावाहुरी, भारी वर्षा, मेघगर्जन/चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

मौसमी भाषाको अर्थ

मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ। अनि २ सय मिलिमिटरदेखि माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ। 

यस्तै सम्बन्धित क्षेत्रको १० प्रतिशत भूभागमा मात्रै वर्षा हुनुलाई एक/दुई स्थान, १० देखि ३० प्रतिशत भूभागमा पानी पर्नुलाई थोरै स्थान, तोकिएको क्षेत्रको ३० देखि ५० प्रतिशत भूभागमा वर्षा हुनुलाई थोरै स्थान, ५० देखि ८० प्रतिशत भूभागमा पानी पर्नुलाई केही स्थान, ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुनुलाई अधिकांश स्थानमा वर्षा हुने भनेर बुझ्नुपर्ने मौसमविद् बताउँछन्।  

यस्तै मौसम महाशाखाले दिउँसो भन्नाले दिन अर्थात् बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको समयलाई मान्ने गरेको छ भने राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समय हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .