ad ad

समाज


वर्षा, चट्याङ र हावाहुरीका कारण हुनसक्ने क्षतिबाट जोगिनुहोला : मौसम महाशाखा

वर्षा, चट्याङ र हावाहुरीका कारण हुनसक्ने क्षतिबाट जोगिनुहोला : मौसम महाशाखा

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
असार २९, २०८० शुक्रबार ७:२८, काठमाडौँ

आज (शुक्रबार) पनि सबै प्रदेशमा पानी पर्ने तथा तराईका थोरै स्थानमा हावाहुरीसमेत आउने सम्भावना रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षा, चट्याङ, बाढी, पहिरो तथा हावाहुरीबाट हुनसक्ने क्षतिबाट जोगिन सुझाव दिँदै महाशाखाले २४ घण्टाका लागि चेतावनी पनि जारी गरेको छ। 

महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार यतिबेला (शुक्रबार बिहान ७ बजे) कोशी, बागमती र गण्डकीका थोरै भूभाग तथा मधेशको पूर्वी भूभागका एक/दुई स्थानमा वर्षा भइरहेको छ।

‘कोशी र मधेशको पूर्वी भूभागका एक/दुई स्थानमा भारीदेखि धेरै भारीसम्म पनि वर्षा भएको छ’, उनले भने, ‘पछिल्लो ३ घण्टामा १०३, १२८ मिलिमिटरसम्म वर्षा भएको छ।’

बागमती प्रदेशअन्तर्गत तत्काल काठमाडौं उपत्यकामा भने पानी नपरेको उनले बताए। ‘तर उपत्यका आसपास सिन्धुपाल्चोक, दोलखातिर भने वर्षा भइरहेको छ’, मौसमविद् झाले भने। दिउँसो भने काठमाडौं उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको जानकारी पनि उनले दिए। 

मौसम महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा कोशी  र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। साथै मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। 

यस्तै राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।  यस क्रममा गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ भने मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले आगामी २४ घण्टा (शनिबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ– सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी र प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहनुका साथै मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको हुनाले यसबाट सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने देखिन्छ। तसर्थ हावाहुरी, भारी वर्षा, मेघगर्जन/चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .