ad ad

समाज


साफको बदला लिने योजनामा नेपाल, सजग बंगलादेश

साफको बदला लिने योजनामा नेपाल, सजग बंगलादेश

बुधबार बंगलादेशमा अभ्यास गर्दै नेपाल र बंगलादेशको टोली


नेपालखबर
असार २८, २०८० बिहिबार ७:६, काठमाडौँ

बंगालदेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली यतिबेला बंगलादेशको ढाकामा छ। 

पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बिहीबार घरेलु टोली बंगलादेशसँग खेल्दैछ।

खेल ढाकाको कमलपुरस्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा साँझ पौने ६ बजे हुनेछ। 

नेपाली टोली गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा मैदान उत्रँदा बंगलादेश भने मुख्य फरवार्ड सविना खातुनको कप्तानीमा खेल्नेछ। 

नेपाल र बंगालदेशका प्रशिक्षक र कप्तानले एकअर्कालाई बलियो टोलीको रुपमा व्याख्या गरे। 

नेपाली टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले बिहीबारको खेल प्रतिस्पर्धात्मक हुने बताएका छन्। नेपाली टोलीको मुख्य खेलाडी सावित्रा भण्डारी साम्बाको पुनरागमनले टोली उच्च मनोबलमा रहेको प्रशिक्षक थापाले बताए। गत भदौमा घरेलु मैदानमा भएको साफमा अस्वस्थताका कारण साम्बाले पूरै समय मैदानमा बिताउन पाएकी थिइनन्। 

यस्तै चोटपछि टोलीकी महत्वपूर्ण खेलाडी डिफेन्डर गीता राना र मिडफिल्डर प्रिती राईले पनि टोलीमा पुनरागमन गरेका छन्। चोटकै कारण गीता र प्रिती दुवैले घरेलु मैदानमा भएको ओलम्पिक छनोट अन्तर्गतको छनोट खेल गुमाएका थिए। गीता भारतसँगको दुई मैत्रीपूर्ण खेलमा चोट बोकेपछि टोली बाहिर थिइन्। यस्तै प्रिती राई पनि घुँडाको सफल शल्यक्रियापछि पुनरागमन गर्न सफल भएकी छिन्। 

यद्यपि, बिहीबारको खेलमा प्रितीले सुरुवाती ११ मै स्थान बनाउने सम्भावना उच्च रहे पनि गीता भने बेन्चमा रहने छिन्। 

घुँडाको उपचारपछि पुनरागमन गरेकी गीता अस्वथ्य रहेका कारण टोली बाहिर रहने सम्भावना छ। 

टोलीकी कप्तान एञ्जिला तुम्बापो सुब्बाले बंगलादेशलाई आफुहरूले कमजोर रुपमा नहेरेको बताइन्। उनले भनिन्, 'पहिला जे भयो अब त्यसलाई बिर्सेर अगाडि बढ्नुपर्छ। अहिले हामीसँग साम्बा पनि छ, त्यसैले हामीले राम्रो खेल्नेछौँ।'

नेपाल र बंगलादेश गत भदौमा भएको साफ च्याम्पियनपछि पहिलो पटक भिड्न लागेका हुन्। साफको फाइनलमा नेपाली टोली बंगलादेशसँग ३–१ ले पराजित भएको थियो। 

नेपाली टोली यो पटक साफमा भोगेको हारको बदला उसकै घरेलु मैदानमा लिन चाहन्छ। 

यता साफ जित्ने टोलीबाट बंगालदेशको टोलीमा मुख्य प्रशिक्षकसहित २ खेलाडी परिवर्तन भएका छन्। 

मुख्य प्रशिक्षक गोलान रोबान्नी छोटानले साफ जितेको केही समयपछि नै बंगालदेशको टोली छाडेका थिए। यस्तै टोलीकी स्ट्राइकर सिरहद जहान सोप्ना र डिफेन्डर आकि खातुन पनि टोलीमा छैनन्। मुख्य प्रशिक्षकले बंगलादेश फुटबल संघसँग असमझदारी बढेपछि टोली छाडेको बताइएको छ। जहान सोप्ना र आकी खातुनले भने व्यक्तीगत कारण टोली छाडेको सुनिएको छ। 

छोटानले टोली छाडेपछि संघले मुख्य प्रशिक्षकको जिम्मेवारी मोहबुबुर रहमन लिटुलाई दिएको छ। यद्यपि, संघ विदेशी प्रशिक्षक ल्याउने आन्तरिक तयारीमा पनि जुटिरहेको छ। 

बंगलादेशका मुख्य प्रशिक्षक लिटुले भने, 'साफ च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित भएपनि बलियो टोली हो। यो पटक नेपाल त्यो हारको बदला लिने प्रयासमा हुनेछ। त्यसैले हामीले यो खेललाई र नेपाललाई हल्का रुपमा लिएका छैनौ। हामी उत्कृष्ट खेल प्रस्तुत गर्नेछौ।'

अहिले सावित्राको पुनरागमनले पनि नेपाली टोली बलियो छ। 

टोलीकी कप्तान  सविना खातुनले पहिला र अहिलेको आफूहरूको टोलीमा धेरै फरक रहेको सुनाइन्। उनले भनिन्, 'साफपछि हामीले ८ महिना खेल्न पाएका छैनौँ। नेपालले खेलिरहेको छ। हामी उत्कृष्ट खेल्ने प्रयास गर्नेछौँ।'

नेपालले दोस्रो मैत्रीपूर्ण खेल आइतबार खेल्नेछ। 

हेड टु हेड 
नेपाल र बंगलादेश यसअघि सबैखाले स्पर्धामा ९ पटक भेट भएका छन्। ती भेटमा नेपालले ६ पटक नतिजा आफ्नो पक्ष्यमा पारेको थियो। दुई खेल बराबरीमा टुंगिएको थियो।

एक खेल बंगलादेशले जितेको छ। गत भदौमा घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपको फाईनलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो। नेपाल पहिलो पटक बगंलादेशसँग पराजित हुँदा घरेलु मैदानमा साफको उपाधि जित्ने ऐतिहासिक अवसरबाट चुकेको थियो। 

बंगलादेशकै मैदानमा नेपाल साफमा भोगेको हारको बदला लिने योजनामा हुँदा घरेलु टोली भने पाहुना टोली नेपालसँग सजग भएर मैदान उत्रनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .