समाज


नक्कली शरणार्थी प्रकरण : आरजु र मञ्जुलाई करोडौं बुझाएको भनिएको अडिओ सन्देश शर्माको

नक्कली शरणार्थी प्रकरण : आरजु र मञ्जुलाई करोडौं बुझाएको भनिएको अडिओ सन्देश शर्माको

फाइल तस्बिर


नेपालखबर
असार २४, २०८० आइतबार १४:१३, काठमाडौँ

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भन्दै रकम लिएर ठगी गरेको प्रकरणमा नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाको नाम लिँदै सार्वजनिक भएको बिचौलियको अडिओ सन्देश शर्माको भएको खुलेको छ।

गत वैशाख अन्तिम साता सामाजिक सञ्जालमा भाइरल भएको उक्त अडिओले कांग्रेस नेता बालकृ्ष्ण खाँण हुँदै सभापति शेरबहादुर देउवाको घरभित्रै पुग्ने अवस्था ल्याएको थियो। उक्त अडिओ संवादमा पीडित भनिएकाहरुले बालकृष्ण खाँण, मञ्जु खाँण र आरजु राणा देउवालाई मुछेका थिए। 

यसबीचमा प्रहरी प्रधान कार्यालयले उक्त अडिओ नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १९ जना अभियु्क्तमध्ये दाङको तुलसीपुर घर भएका सन्देश शर्माको भएको पुष्टि गरेको हो। 

अडिओ परीक्षण गर्दा शर्माको स्वरसँग ‘स्पिकर आइडेन्टिफिकेस ट्रेट्स म्याच’ भएको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायले बताएका छन्। 

उक्त अडिओलाई लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापत्नी आरजुले नेपाल प्रहरीको साइबर ब्यूरोमा पनि पुगेकी थिइन्। 

प्रहरीको हातमा उक्त उक्त अडिओ आइपुगेपछि अनुसन्धान अघि बढाइएको थियो। त्यसका लागि उक्त अडिओ कहाँ ‘ओरिजिनेटेड’ भयो पत्ता लगाउन प्रहरी प्रधान कार्यालयले सिंगापुरस्थित टिकटकको कार्यालयलाई पत्र लेखेको थियो। 

कडायतले तर अहिलेसम्म उक्त अडिओबारे टिकटकले जवाफ दिइनसकेको पनि जानकारी दिए। 

‘डा. आरजु राणा देउवाले सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक अडिओका सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो भोटाहिटीमा मिति वैशाख २ गते प्राप्त निवेदनका हकमा परीक्षण गर्दा स्पिकर्स आइडेन्टीफिकेसन ट्यारिट्स म्याच भनी उल्लेख भएको जुन स्वर जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा ठगी तथा संगठित अपराध कसुर मुद्दा अनुसन्धानमा रहेका तुल्सीपुर उपमहानगर पालिका १६ दाङ घर भएका वर्ष ३४ को सन्देश शर्माको कन्ट्रोल स्याम्पलसँग मेल खाएको’, प्रहरी प्रधान कार्यालयले भनेको छ।

तर कहाँबाट त्यो रेकर्ड भएर आयो भन्ने पत्ता लगाउन टिकटकले जवाफ दिइनसकेको पनि उल्लेख गरिएको छ। 

‘तर कहाँ र कसबाट ओरिजिनेटभएको भन्ने सम्बन्धमा टिकटक सिंगापुरलाई पत्राचार भएकोमा थप विवरण प्राप्त हुन नसकेको’, विज्ञप्तिमा भनिएको छ, ‘निज सन्देश शर्माको सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट ठगी तथा संगठित अपराध कसुर मुद्दा चली सम्मानित जिल्ला अदालतमा कारवाहीको क्रममा रहेकोले निजसँग सम्बन्धित थप विवरण सम्मानित अदालतबाट उपलब्ध हुने व्यहोरा जानकारी गराइएको छ।’

शर्माले उक्त अडिओ आफ्नै भएको स्वीकारेका थिए। शर्माले नक्कली भुटानी शरणार्थीको रुपमा अमेरिका जान रकम दिएका पीडितहरुसँगको कुराकानीका क्रममा आरजुलाईसमेत अढाई करोड रुपैयाँ बुझाएकाले काम हुने बताएका थिए। 

कम्तीमा तीनजनाले संवाद गरेको १ मिनेट ३ सेकेन्डको उक्त अडिओ क्लिपले खाँण र देउवा परिवारलाई पनि मुछेको थियो। प्रहरीले त्यसबेला नै यसको आधिकारिकता जाँचलाई अनुसन्धानकै एक अंगका रुपमा अघि बढाइएको जनाएको थियो। 

के थियो अडिओमा?
अडिओमा संवादका क्रममा आरजुले साढे दुई करोड रुपैयाँ र मञ्जुले घरमै ६ करोड रुपैयाँ लिएको दाबी गरिएको थियो। सुरुमा टिकटकमा सार्वजनिक भएको यो अडिओ अहिले ट्विटर र फेसबुकमा पनि भाइरल भएको थियो।

नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिने बहानामा करोडौं उठाएको एक समूहबाट आरजु र मञ्जुले साढे आठ करोड रुपैयाँ बुझेको उक्त अडिओमा उल्लेख थियो।

उक्त प्रकरणमा संलग्न गिरोहले अडिओको सुरुमा कर्मचारी प्रमुख जिल्ला अधिकारीहरुको सरुवाले आफूहरु हैरान भएको बताएको सुन्न सकिन्छ। उनीहरुले काम हुने प्रलोभनमा आफूहरुलाई दुहुनो गाई बनाइएको भन्दै तीतो पोख्छन्।

‘यसो काम सकिन आँट्यो भन्यो प्रजिअको सरुवा गरिदिजान्छ, ल है काम भयो भन्यो भोलि त सरुवा गरिजान्छ’, सुरुमा एकजना यसरी गुनासो गर्छन्, ‘पर्सिदेखि काम सुरू भयो भन्यो झ्वाम्म खाइदिएर सिडिओ सरुवा भइजान्छ। कति सरुवा गर्न सक्या। नियतले नै हो कि त दाइ। के काम हुन्छ त रातारात सरुवा गरिदिएपछि। दुहुनो गाई भयौँ हामी त।’

त्यसपछि संवाद अझै अघि बढ्छ। जब संवाद अघि बढ्दै जान्छ, दोस्रो तेस्रो व्यक्तिको संवाद त्यहाँ थपिन्छ।

काम नभएपछि आजित भएका एकजनाले अब अति भएकाले मिडिया बोलाउने तयारी गरेको पनि उक्त संवादमा सुन्न सकिन्छ। 

‘खाने मात्रै छन्। भोलि मिडिया पनि बोलाउँछु भन्नु तपाईंले’, एकजनाले भन्छन्, ‘भोलि मिडिया पनि बोलाउँछु भन्नु तपाईंले मिडियासँग सबै कुरा राख्छु यो हप्ताभरी काम भएन भने भनेर भन्नु, त्यही हनुमान ढोकाअगाडि पत्रकार बोलाउँछु भन्नु।भोलि मिडिया पनि बोलाउँछु भन्नु तपाईंले, किनभने मलाई कसैको डर छैन क्या!’

अडिओमा प्रजिअको पटक पटक सरुवाले हैरान एक व्यक्तिको गुनासोपछि त्यसमा उनीहरुले कांग्रेस नेतृहरु आरजु र मञ्जुको प्रसंग निकाल्छन्। 

एकजनाले आफूले आरजुलाई साढे २ करोड रुपैयाँ र मञ्जुलाई घरमै पुगेर साढे ६ करोड रुपैयाँ बुझाएकोसमेत कुरा निकाल्छन्। 

‘आरजु राणालाई साढे दुई करोड रुपैयाँ बुझाएकै हो’, त्यसक्रममा दोस्रो व्यक्ति भन्छन्, ‘६ करोड रुपैयाँ हनुमाथानमा बालकृष्ण खाँणलाई बुझाएका हौँ। मञ्जु खाँणले बुझेकै हुन्। त्यो हनुमान थानको भित्रपट्टि लगेर बुझाएका हौँ। प्रमाण मसँग छ नि!’

उक्त अडिओ जाहेरवालाले नै अनुसन्धानमा संलग्न प्रहरी अधिकारीलाई पनि बुझाएका थिए। उक्त अडिओमा मञ्जुलाई अनामनगरस्थित हनुमानथान पछाडिको घरमा गएर ६ करोड दिइएको भनिएको थियो। तर मञ्जु खाणले भने आफू चार वर्षदेखि चाबहिलमा बस्दै आएको बताएकी छन्। 

 

आरजुले के भनेकी थिइन्? 
नक्कली शरणार्थी प्रकरणमा जोडिएपछि कांग्रेस सांसदसमेत रहेकी डा. राणाले भ्रष्टाचारको छानबिन गर्ने हो भने सबै नेताको सम्पत्ति सार्वजनिक गरिनुपर्ने बताएकी थिइन्। 

‘भ्रष्टाचारको कुरामा हामी कति सिरियस छौँ? म संसदमा नभएको दिनमा मेरो नाम यहाँ भ्रष्टाचारमा जोडियो’, उनले त्यसबेला संसदमा भनेकी थिइन्, ‘एउटा नारीले आफ्नो हैसियतमा राजनीतिक गरेको नहुने रहेछ। नारीले आफ्नो बलमा गरेको प्रगति पुरुषले नसहने रहेछन्। पुरुषले भनेको कुरा मात्रै मान्नु पर्ने रहेछ।’

उनले महिलाहरु आफ्नो बलमा पब्लिक लाइफमा आउँदा पुरुष सह्य नहुने गरेको गुनासो गरेकी थिइन्। ‘महिला आफ्नो बलमा पब्लिक लाइफमा आयो भने पुरुषलाई सह्य नहुने रहेछ,’ उनले भनेकी थिइन्, ‘मैले केही बिराएको छैन, डराउँदिनँ।’ 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .