न्याय माग गर्दै बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले काठमाडौं जिल्ला अदालत परिसरभित्रैबाट घिसार्दै पक्राउ गरेको हो। अदालत परिसरमै अनशन बस्न तयार भएपछि उनलाई प्रहरीले लछारपछार गर्दै समातेर लगेको हो।
चलाउनेलाई २०७७ असोज २० गते सत्तारुढ नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका कार्यकर्ताहरुले आक्रमण गरेर गम्भीर घाइते बनाएका थिए।
त्रिवि नेविसंघ अध्यक्ष हरि आचार्यको समूहले चलाउनेलाई गम्भीर घाइते हुनेगरी कुटपिट गरेको थियो।
त्यसपछि आचार्यसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा चलिरहेको थियो। मुद्दाको अन्तिम सुनुवाइका लागि मंगलबार पेशी तोकिएको थियो।
तर त्यसअघि नै सरकारले नेविसंघका कार्यकर्ताविरुद्धको उक्त मुद्दा फिर्ता लिने निर्णय गरिसकेको छ।
सरकारको निर्णयविरुद्ध चलाउनेले काठमाडौं जिल्ला अदालत परिसरभित्र आमरण अनशन बस्ने चेतावनी दिएका थिए। त्यहीअनुसार उनी अनशन बस्न तयार भएका थिए।
तर प्रहरीले न्याय खोजिरहेका चलाउनेलाई होहल्ला गरेको आरोपमा पक्राउ गरेर लगेको हो। अहिले उनलाई सिंहदरबार बृत्तमा राखिएको छ।
Shares

प्रतिक्रिया