समाज


इजलासमा टेकनाथ रिजालको गुनासो : भुटानमा यातना पाएँ, नेपालमा नेताले धोका दिए, फुटबल बनाए

न्यायाधीशकै अगाडि सरकारी वकिलहरुबारे उठाए प्रश्न
इजलासमा टेकनाथ रिजालको गुनासो : भुटानमा यातना पाएँ, नेपालमा नेताले धोका दिए, फुटबल बनाए

फाइल तस्बिर


नेपालखबर
जेठ ३२, २०८० बिहिबार १६:३४, काठमाडौँ

नक्कली शरणार्थी प्रकरणमा बिचौलियाबाट २ लाख रुपैयाँभन्दा बढी पैसा लिएको आरोपमा पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजालले सरकारी वकिलहरुलाई गाली गरेका छन्।

बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आफ्नो पक्षको प्रतिरक्षा बहस सकिएपछि उनी सरकारी वकिलहरुविरुद्ध खनिएका हुन्। 

प्रतिरक्षा बहस सकिएपछि वकिलहरु बोल्ने स्थानमै पुगेर उनले आक्रोश पोखेका हुन्। 

‘मलाई सरकारी वकिलले धेरै गाली गरे। को हुन् तिनीहरु? के हिम्मतले गाली गर्दैछन् मलाई?’, उनले भने, ‘तिनीहरुले मलाई धेरै भने तर किन त्यसरी ममाथि खनिए, मैले के गरेको थिएँ र?’

उनले त्यसक्रममा भुटानमा जेल जीवनदेखि त्यहाँ बिताएको कष्टकर कहानी पनि सुनाए। त्यसक्रममा उनले आफूलाई नेपाली नेताहरुले धोका दिएको बताएका छन्।

आफूलाई भुटानमा पनि दुख दिएको र नेपालमा पनि नेताहरुले धोका दिएको गुनासो गरेका उनले शरणार्थी समस्या समाधानमा धेरै पहल गरेको पनि सुनाए। 

‘मैले शरणार्थी समस्या समाधानका लागि सबै नेताहरुलाई भेटेको थिएँ। मैले यसबारेमा शेरबहादुर देउवालाई सुनाउँदा ती त बिचौलियाहरु, ठग हुन् भने’, उनले न्यायाधीशलाई सुनाए, ‘मैले प्रचण्ड, केपी ओली सबैलाई भेटेर यो कुरा भनेको हो। तर कसैले पनि मतलब गरेनन्। मलाई फुटबल बनाइयो।’

रिजालले आफूले भुटानका राजाको प्रस्ताव अस्वीकार गरेको बताउँदै त्यहाँको जेलमा बोरामा बाँधेकादेखि यातनाका अनेक कहानी पनि सुनाए। 

उनले न्यायाधीश न्यौपानेसमक्ष आफू निर्दोष रहेको भन्दै शरणार्थी समस्या समाधानमा भूमिका खेलेको भनेर रिहा गरिदिन याचना पनि गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .