ad ad

समाज


मनसुन प्रवेशको पहिलो दिन नै काठमाडौंसहित यी ठाउँमा भयो ठूलो वर्षा

मनसुन प्रवेशको पहिलो दिन नै काठमाडौंसहित यी ठाउँमा भयो ठूलो वर्षा

काठमाडौंमा बुधबार भएको वर्षा। तस्बिर : सरोज बैजु


नेपालखबर
जेठ ३२, २०८० बिहिबार ७:२४, काठमाडौँ

मनसुन (वर्षायाम सुरु गराउने मौसमी प्रणाली) प्रवेशको पहिलो दिन नै काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा ठूलो वर्षा भएको छ। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार बुधबार सबैभन्दा ठूलो वर्षा लमजुङमा भएको छ।

‘२४ घण्टामा लमजुङको खुदी बजारमा १३३ मिलिमिटर वर्षा भएको छ’, मौसमविद् महर्जनले बिहीबार बिहान भनिन्, ‘त्यस आसपासका २/३ ठाउँमा पनि वर्षाको मात्रा ९० मिलिमिटर कटेको छ।’

उनका अनुसार ५० देखि माथि सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई भारी वर्षा भनिन्छ भने सय मिलिमिटरभन्दा माथि पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ। 

यस्तै बागमती प्रदेशका पहाडी भेगमा पनि भारी वर्षा भएको छ। ‘काठमाडौंको शिवपुरी क्षेत्रमा पर्ने धाप ड्याममा ७८.५ मिलिमिटर वर्षा भएको छ, धादिङको धुनीबेंसीमा ७१.४ मिलिमिटर, काठमाडौंको कीर्तिपुरमा ६०.४ मिलिमिटर वर्षा भएको छ भने ललितपुरको लेलेमा पनि ६०.४ मिलिमिटर पानी परेको छ’, मौसमविद् महर्जनले भनिन्। 

यस्तै मकवानपुरमा पनि बुधबार भारी वर्षा भएको छ। ‘मकवानपुरको दामनमा ७०.२ मिलिमिटर वर्षा भएको छ’, उनले भनिन्। 

बुधबार ओखलढुंगामा पनि झन्डै भारी वर्षा भएको छ। ‘त्यहाँ ४८.२ मिलिमिटर वर्षा भएको छ’, उनले भनिन्। 

उनका अनुसार बुधबार देशका पहाडी भेगसँगै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भएको हो। मधेश प्रदेशको पूर्वी क्षेत्रमा पनि हल्का वर्षा भएको उनले बताइन्। यस्तै पश्चिमी वायुको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा पनि बुधबार हल्का वर्षा भएको जानकारी मौसमविद् महर्जनले दिइन्।  

तर सुदूरपश्चिमको तराईसँगै गण्डकी र लुम्बिनी प्रदेशका तराईमा पानी पर्न सकेको छैन। जसका कारण त्यहाँ अत्यधिक गर्मी हुने क्रम जारी छ। ‘भैरहवामा बुधबार अधिकतम तापक्रम ४३ डिग्री सेल्सियस पुगेको छ’, उनले भनिन्। 

मौसमविद् महर्जनका अनुसार मध्य तथा पश्चिम तराईमा अझै केही दिन गर्मी जारी रहने सम्भावना देखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .