ad ad

समाज


प्रेस काउन्सिलका अध्यक्ष बस्नेतविरुद्ध महिला पत्रकारले दिइन् साइबर ब्युरोमा उजुरी

सञ्चार मन्त्रालयमा पनि निवेदन
प्रेस काउन्सिलका अध्यक्ष बस्नेतविरुद्ध महिला पत्रकारले दिइन् साइबर ब्युरोमा उजुरी

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत


नेपालखबर
जेठ २३, २०८० मंगलबार ९:३७, काठमाडौँ

सञ्चारमाध्यमको अनुगमन, मूल्यांकन गरी मर्यादित तथा जिम्मेवार बनाउनका लागि स्थापित प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतविरुद्ध एक महिला पत्रकारले प्रहरीको साइबर ब्युरो र सूचना तथा प्रविधि मन्त्रालयमा उजुरी दिएकी छन्। 

मध्यरातमा कल/म्यासेज गरेर अवाञ्छित प्रस्ताव राखेको आरोप लगाउँदै बिहीबार साइबर ब्युरोमा उजुरी दिएकी ती महिला पत्रकारले त्यसपछि असुरक्षित महसुस गर्दै आइतबार सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा पनि निवेदन दिएकी हुन्।

साइबर ब्युरोका प्रवक्ता एसपी पशुपतिकुमार रायले अध्यक्ष बस्नेतविरुद्ध उजुरी आएको पुष्टि गरे। 

‘(प्रेस काउन्सिल नेपालका अध्यक्ष) बालकृष्ण बस्नेतविरुद्ध उजुरी आएको छ, साइबर क्राइम भयो भनेर उजुरी आएको छ’, एसपी रायले मंगलबार बिहान नेपालखबरसँग भने, ‘हामी घटनाबारे अनुसन्धान गरिरहेका छौँ। प्रमाण संकलनको काम भइरहेको छ।’

ती महिला पत्रकारले दिएको उजुरीमा भनिएको छ, ‘बालकृष्ण बस्नेत नामक फेसबुक आईडीले जेठ १५ गते मध्यराति मेसेन्जरमार्फत भेट गर्ने प्रस्ताव राख्ने, अडिओ कल गर्ने, साथै पटक–पटक एसएमएस गरी रातको समयमा टर्चरसमेत गर्ने गरेकाले सो व्यक्तिलाई कारबाही गरी पाऊँ।’

उक्त उजुरीपछि काउन्सिलका अध्यक्ष बस्नेतले आफ्नो परिवार र कार्यरत संस्थाका प्रमुखलाई फोन गरी उजुरी फिर्ता लिन दबाब दिएको र बस्नेतका क्रियाकलापले आफू असुरक्षित देखिएको भन्दै ती महिला पत्रकारले सञ्चार मन्त्रालयमा पनि निवेदन दिएकी हुन्।

यता अध्यक्ष बस्नेतले भने यसबीच आफ्नो फेसबुक ह्याक भएको दाबी गर्दै त्यस्तो काम अरूले नै गरेको जिकिर गरेका छन्। 

तर ती महिला पत्रकारले त्यसो गर्ने बस्नेत नै भएको जिकिर गरेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .