ad ad

समाज


अझै ३ दिन गर्मी घट्ने सम्भावना देखिन्न : मौसमविद्

अझै ३ दिन गर्मी घट्ने सम्भावना देखिन्न : मौसमविद्

फाइल तस्बिर


नेपालखबर
जेठ १९, २०८० शुक्रबार ७:२१, काठमाडौँ

अझै कम्तीमा ३ दिन वर्षाको खासै सम्भावना नभएकाले तापक्रम अर्थात् गर्मी घट्ने सम्भावना नदेखिएको मौसमविद्ले बताएका छन्। सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्ने गरिएको छ। 

मौसम बदली (आकाशमा बादल) र वर्षा कम भएसँगै केही दिनयता देशभर गर्मी बढेको छ। गर्मीले विशेषगरी तराई क्षेत्रको जनजीवन कष्टकर बनेको छ। अत्यधिक गर्मीका कारण तराईका कतिपय स्थानमा विद्यालय नै बन्द गरिएका छन्। देशको पश्चिमी तथा पहाडी क्षेत्रमा भने मौसम बदली र छिटपुट वर्षा भइरहेकाले तुलनात्मक रूपमा गर्मी कम छ। 

तर काठमाडौं उपत्यकामा पनि केही दिनदेखि गर्मी महसुस भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आज बिहान ६ बजेतिरको मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १८ डिग्रीमा उक्लिएको छ। यस्तै बिहीबारको मापनअनुसार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस पुगेको छ। 

काठमाडौं उपत्यकाबाहिर जनकपुर, सिमराजस्ता स्थानमा अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको मौसम महाशाखाको तथ्यांकमा उल्लेख गरिएको छ। 

‘अझै कम्तीमा ३ दिन वर्षाको खासै सम्भावना देखिएको छैन’, मौसमविद् झाले शुक्रबार बिहान नेपालखबरसँग भने, ‘त्यसैले अहिलेसम्मलाई गर्मी घट्ने अवस्था देखिँदैन।’

तापक्रम घट्न पानी नै पर्नुपर्ने हुन्छ। पहाडी भेगमा फाटफुट वर्षा भए पनि तराईमा भने वर्षा हुनै सकेको छैन। जसले गर्दा त्यहाँ बढी गर्मी भई जनजीवन प्रभावित हुने मौसमविद् बताउँछन्। 

पहाडी भेगमा हल्का वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा देशका बाँकी पहाडी भेगका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा (१० मिलिमिटरसम्म पानी पर्नु) को सम्भावना छ।

समविद्का अनुसार एक दुई ठाउँमा मात्र वर्षाको सम्भावना देखिनु पानी पर्ने सम्भावना कम हुनु हो। आजलाई काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना निकै न्यून रहेको मौसमविद् झाले जानकारी दिए। 

मौसम महाशाखाका अनुसार आज राति देशका पहाडी भेगमा आंशिक बदली (२६ प्रतिशतदेखि ५० प्रतिशतसम्म आकाशमा बादल) रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका ‍एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .