समाज


जहाँ आज चट्याङसहित वर्षा हुने सम्भावना छ

जहाँ आज चट्याङसहित वर्षा हुने सम्भावना छ

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
जेठ १४, २०८० आइतबार ६:५४, काठमाडौँ

अहिले (आइतबार बिहान) कोशी र बागमती प्रदेशका एक–दुई ठाउँमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार बागमती प्रदेशको दक्षिण पूर्वी भूभागका एक–दुई ठाउँमा वर्षा भइरहेको हो। काठमाडौं उपत्यकामा भने अहिले वर्षा नभएको उनले बताए। 

यस्तै कोशी प्रदेशको पनि पूर्वी भूभागका एक–दुई स्थानमा अहिले वर्षा भइरहेको मौसमविद् श्रेष्ठले जानकारी दिए।

यसबाहेक कोशी प्रदेशमा सामान्य बदली (५१ देखि ७५ प्रतिशत आकाशमा बादल) भएको छ भने गण्डकी र बागमतीका पहाडी भेगमा आंशिक (२६ देखि ५० प्रतिशत आकाशमा बादल) देखि सामान्य बदली भई देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा (२५ प्रतिशत आकाशमा मात्र बादल) रहेको मौसमविद् श्रेष्ठले बताए। 

मौसम महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षा (१० मिलिमिटरसम्म पानी पर्नु) को सम्भावना छ। 

‘आज काठमाडौं उपत्यकामा पनि साँझपख हल्कादेखि मध्यम वर्षा (१० मिलिमिटरदेखि माथि ५० मिलिमिटरसम्म पानी पर्नु) को सम्भावना छ’, मौसमविद् श्रेष्ठले भने।  

महाशाखाका अनुसार आज राति भने पानी पर्ने सम्भावना देखिएको छैन। राति कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य स्थानमा मौसम आंशिक बदली मात्र हुनेछ।  

तराईमा हावाहुरीको सम्भावना

आज (आइतबार) दिउँसो तराईका केही स्थानमा हावाहुरीको सम्भावना देखिएकाे छ। 

‘मधेश र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावाहुरी आउने सम्भावना देखिएको हो’, मौसमविद् श्रेष्ठले भने।

मौसम महाशाखाले आगामी २४ घण्टा (सोमबार बिहान ६ बजे) का लागि चेतावनी तथा परामर्श जारी गरेको छ। 

त्यसमा भनिएको छ– कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेकाले त्यसबाट जोगिन र हुनसक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .