खोलाको गिट्टी, बालुवा अवैद्य रुपमा भइरहेको दोहनको विरोध गर्दा हत्या गरिएका धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय युवा दिलीपकुमार महतोको अन्त्येष्टि गरिएको छ।
शनिवार राति औरही खोलामा घटनास्थल भन्दा १ सयमिटर नजिकै उनको दाहसंस्कार गरिएको भाइ जितेन्द्र महतोले जानकारी दिए।
दिलीपलाई उनका हजुरबुबा ७५ वर्षका रामपृत महतोले दागबती दिएका छन्। भाई जितेन्द्रका अनुसार दिलीपको अन्तेष्टिमा गाउँका दुईसयभन्दा बढी गाउँलेको सहभागिता थियो।
शनिवार अबेर साँझसम्म झण्डै ३ घण्टा लगाएर प्रादेशिक अस्पताल जनकपुरका चारजना चिकित्सकले शवको पोस्टमार्टम गरेका थिए।
पोस्टमार्टम पश्चात परिवारजनले साँझ नै शव बुझेर राति नै उनको हत्या भएकै खोलामा लगेर दाहसंस्कार गरेका हुन्।
शुक्रबार बिहान ४ बजे औरही खोलामा उत्खनन भइरहेको थाहा पाएपछि रोक्न जाँदा रडले प्रहार गरी घाइते बनाई ना ७ ख ६४१३ नम्बरका टिपरले किचेर दिलिपको हत्या गरिएको थियो।
ईलाका प्रहरी कार्यालय ढल्केबरले तत्कालै घटनास्थलमा पुगेर मुचुलुल्का विनै शव उठाएर पोस्टमार्टमको लागि पठाएको थियो।
प्रहरीले उठाएको मुचुल्कामा आफन्तले चित्त नबुझाउँदा दिलीपको शवको पोस्टमार्टमा ढिलाई भएको थियो। कागजी प्रक्रियामा चित्ता बुझेपछि झण्डै ३६ घण्टा पश्चात प्रादेशिक अस्पताल जनकपुरमा शनिवार साँझ पोस्टमार्टम गरिएको हो।
भारतको भोपालमा इन्जिनियरिङ अन्तिम सेमेस्टरमा अध्ययन गरिरहेका दिलीप घर आएको बेला उनको हत्या भएको हो। दुईवर्षदेखि घर पूर्वको औरही र घर पश्चिमको बसही खोलामा भइरहेको अवैध दोहन विरुद्धको अभियानमा उनी सक्रिय रुपले लागेका थिए।
घर आएको बेला युवाहरुको नेतृत्व गर्दै दिलीपले अवैध खोला दोहनको विरोध गर्ने र रोक्ने काम गर्दै आएका थिए। त्यस क्रममा कतिपटक दिलीपका समुहसंग क्रसर र प्रहरी प्रशासनको विवाद समेत भएको थियो।
उनको त्यो गतिविधिले व्यवसायमा असर परेपछि स्थानीय चुरियामाई प्रशोधन क्रसरसंचालक विपीन महतो लगायतले उनको हत्या नै गर्ने योजना बुनेका थिए।
अन्तमा क्रसर डन विपीनले पहिले नै धम्की दिएअनुसार टिपरले किचेर उनको हत्या गरेका प्रहरीको अनुसन्धानले ठहर गरेको छ।
गाउँको होनहार दिलीपको हत्याले श्रीपुर सिंगै गाउँ नै शोकमा डुबेको छ।

प्रतिक्रिया