होङ्गान्जी न्यु डायमन्ड राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आइतबार न्यु डायमण्ड क्लब र सशस्त्र प्रहरीको एपीएफ भिड्दै छन्।
फाइनल खेल काठमाडौंको बसपार्कस्थित ढोरपाटन क्लबको कार्टमा दिउँसो १ः३० बजे हुनेछ।
आयोजक न्यु डायमन्डले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराउँदै उपाधिनजिक पुगेको हो।
राष्ट्रिय टोलीका तीन महत्वपूर्ण सदस्य डायमन्डले एकपक्षीय खेलमा शनिबार आर्मीलाई २५-१७, २५-१६ र २५-११ ले पाखा लगाउँदै एपीएफसँगको भेट पक्का गरेको हो।
एपीएफले भने अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई शनिबार नै भएको पहिलो सेमिफाइनलमा ३–० को सोझो सेटमा हराउँदै तेस्रोपटक उपाधि नजिक पुगेको हो। उसले पुलिसलाई २५-१४,२५-१८,२५-१७ ले हराएको हो।
तेस्रो स्थानका लागि आजै पुलिस र आर्मी भिड्ने छन्। खेल बिहान ११ः३० बजे सोही कार्टमा हुनेछ।
प्रतियोगिता विजेताले ४ लाख १ हजार १ रुपैयाँ, दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रोले १ लाख ५१ हजार १ सय १ रुपैयाँ तथा चौथाेले ५१ हजार १ सय १ रुपैयाँ प्राप्त गर्नेछ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैया प्राप्त गर्नेछन्। व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ पाउनेछन्।

प्रतिक्रिया