पञ्चायतविरुद्ध आन्दोलन गरेका नेपालका कम्युनिष्ट नेताहरुलाई ‘सेल्टर’ दिने झापाली मजदूर नेता सतालसिंह राजवंशीको निधन भएको छ।
मेचीनगर-१५ ज्यामिरगढीका ७६ वर्षीय राजवंशीको बुधबार राति निजी निवासमा निधन भएको हो। बिहीबारै स्थानीय हडिया खोलामा पार्टीको झण्डा ओढाएर अन्त्येष्टि गरिएको छ।
झापा विद्रोहअघि र पछि नेपालका कम्युनिष्ट नेता मनमोहन अधिकारी, सिपी मैनाली, राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी, मदन खपाङ्गीलगायतलाई सतालसिंहले त्यसबेला आफ्नै घरमा सेल्टर दिएर राख्ने गरेको नेकपा नेता भीम खवास बताए।
सेल्टर दिएबापत कयौँपटक हिरासत, भूमिगत र निर्वासन जीवन बिताएका सतालसिंह बिरामी हुनअघिसम्म जीविकाका लागि धुलाबारी बजारमा पुरानो मोडलको पाइडल रिक्सा चलाउँथे।
घाँटीमा ट्युमर भएका उनलाई छ महिना अघिमात्र क्यान्सर भएको थाहा भएको थियो। उपचार गर्न नपाउँदै उनको निधन भएको छ।
सतालसिंहका छोरा विनोद, गणेश, शनि र दिलकुमार तथा छोरी जल, अन र लिल राजवंशी छन्। उनी माइली छोरीसँग बस्दै आएका थिए।
निरन्तर पार्टीमा समर्पित सतालसिंह झापावासी तथा मेचीनगरका एक होनहार कम्युनिष्ट आन्दोलनका योद्धा रहेको प्रदेशसभा सदस्य गोपाल बुढाथोकी बताए।

प्रतिक्रिया