सभापति शेरबहादुर देउवाले तीन दिनसम्म कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा भेला गरेका असन्तुष्ट पक्षका जिल्ला सभापतिहरूसँग ठट्यौली पारामा आक्रोश व्यक्त गरेका छन् ।
तीनदिने भेलापछि बिहीबार बिहान पाँच बुँदे परामर्शपत्र बुझाउन आएका उनीहरूसँगको छलफलमा देउवाले अब राजनीतिमा पाउन केही बाँकी नभएको भन्दै भावुक पनि बने ।
देउवानिवास बुढानीलकण्ठ पुगेका जिल्ला सभापतिहरूको पाँचबुँदे पत्र बुझ्नुअघि आफ्ना कुरा राखे । उनले ‘म पहिले कुरा राख्छु’ भन्दै जिल्ला सभापतिहरूसँग आफ्नो असन्तुष्टि राखेका हुन् ।
‘पार्टी कार्यालयमा जम्मा भएर छलफल गर्नुभयो, तर मलाई किन निम्ता गर्नुभएन? निम्ता गर्नुभएको भए म पनि आएर तपाईंहरूका गुनासा सुन्थेँ,’ देउवाको भनाइ उद्धृत गर्दै कांग्रेस नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीले भने, ‘मसँग चुनाव हारेकाले बोलाउँदा तपाईंहरू आउनुभयो । भोलि जिल्लामा सभापतिको निर्वाचनमा तपाईंहरूसँगै हारेका नेताहरूले बोलाएर यसरी नै छलफल गरे के गर्र्नुहुन्छ?’
त्यसपछि कांग्रेस काभ्रे सभापति मधु आचार्यले नेता रामचन्द्र पौडेलसहित महामन्त्री डा. शशांक कोइरालाको निमन्त्रणामा परामर्शका लागि आएको प्रस्ट्याएका थिए ।
‘हामी नेता रामचन्द्र पौडेलसहित निर्वाचित महामन्त्री शशांक कोइरालाको निम्तोमा परामर्शका लागि आएका हौँ,’ आचार्यले भने, ‘सभापतिलाई भेटेर कुरा राख्ने धोको पनि हाम्रो थियो । त्यही भएर समय मागेरै आज भेट्न आएका हौँ ।’
१३औँ महाधिवेशनमा पराजित पक्षले केन्द्रीय कार्यालयमै जिल्ला सभापतिलाई बोलाएर तीन दिनसम्म छलफल गरेको विषयमा आक्रोसित भएका देउवा बोल्दाबोल्दै भावुक बने।
यो खबर आजको नयाँ पत्रिका दैनिकमा रमेश सापकोटाले लेखेका छन्।
‘चार–चार चोटी प्रधानमन्त्री भइसकेँ, सभापति भइसकेँ । अब मलाई हुनु केही छैन । भोलि पार्टी चलाउने, धान्ने, अगाडि बढाउने तपाईंहरूले नै हो,’ देउवाको भनाइ उद्धृत गर्दै आचार्यले भने । यति बोल्दा सभापति देउवा भावुक बनेका थिए ।
जिल्ला सभापतिहरूलाई सम्झाउँदै देउवाले सहमति गर्न तयार रहेको बताएका थिए । ‘मैले समस्या समाधान गर्न नखोजेको होइन । अनिर्णयको बन्दी नबनौँ भनेर निर्णय गरेको हो,’ देउवाले जिल्ला सभापतिहरूसँग भने, ‘सहमति गर्न अहिले पनि तयार छु । सहमतिमा जे–जे तय हुन्छ कार्यान्वयन गर्न तयार छु । मुलुकको परिस्थिति हामी अनुकूल छैन । यस्तो वेलामा पार्टीमा एकता गरेरै जानुपर्छ भन्नेमा म सचेत छु ।’

प्रतिक्रिया