रातो मत्स्येन्द्रनाथको रथ जेठ ८ गते लगनखेलबाट जावलाखेल तानिने भएको छ।
बिहीवार ज्योतिषीहरूले जेठ ८ गतेको मत्यस्येन्द्रनाथको शुभसाइत जुराएका हुन्। लगनखेलबाट जावलाखेल रथ तान्ने शुभसाइत दिउँसो ३ बजेर ४९ मिनेटमा रहेको ज्योतिषीहरूले बताएका छन्।
वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मत्स्येन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाइन्छ। मत्स्येन्द्रनाथसँग विद्या, धनसम्पत्ति, शान्ति र समृद्धिलगायत सबैकुरा मागे पनि रूपरङ्ग राम्रो होस् भनेर माग्न नहुने संस्कृतिविद्हरू बताउँछन्।
रातो मत्स्येन्द्रनाथको जात्रा नेपालमा मनाइने जात्रा मध्येकै सबैभन्दा लामो जात्रा हो। मत्स्येन्द्रनाथको रथयात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर असार शुक्ल चतुर्थीसम्म २ महिना चल्छ।
मत्स्येन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ। पुल्चोकमा रथारोहण गरी सुरु भएको मत्स्येन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्याएर भोटो देखाइन्छ।
यससँगै मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ। पौराणिक कथन अनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यो जात्राको सुरुवात गराइएको किंवदन्ती छ।
Shares
प्रतिक्रिया