नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउन फाइल नै फेरेको अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले प्रहरीको हिरासतमा पनि आफ्नो जिद्दी छाडेका छैनन्।
जिल्ला प्रहरी परिसर काठमाडौंमा चार घण्टादेखि बयान चलिरहँदा उनले घरबाट पक्राउ पर्दाको जस्तै जिद्दी नछाडेका हुन्।
जरुरी पक्राउ पुर्जी दिएर चाबहिलको मैजुबहालस्थित निवासबाट समातिएका उनलाई अहिले टेकुस्थित परिसरका डीएसपीको कार्यकक्षमा राखेर बयान चलिरहेको छ।
बयानका क्रममा पूर्वगृहमन्त्रीसमेत रहेका खाँणले प्रहरीसँग स्वास्थ्य जाँचका लागि अस्पताल नजाने अड्डी कसेका हुन्।
आफूले कुनै गल्ती नगरेको भन्दै उनले स्वास्थ्य जाँच गर्न नजाने जिद्दी गरेको एक प्रहरी अधिकारीले बताए।
उनका अनुसार म्याद थप गर्न प्रहरीले काठमाडौं जिल्ला अदालत लैजान खोज्दा पनि उनले अटेरी गरेका छन्।
बयानका क्रममा उनले उल्टै के छ प्रमाण? भन्दै प्रहरीसँग प्रतिप्रश्न गरिरहेको ती अधिकारीले बताए।
घरबाट पक्राउका क्रममा पनि उनले ढोकाको चुकुल लगाएर लुक्न पुगेका थिए। प्रहरीले उनलाई ढोका फोडेर पक्राउ गरी परिसरमा ल्याएको थियो।
Shares

प्रतिक्रिया