राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरूको राहदानी जफत गर्न माग गरेका छन्।
बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद अर्यालले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरू देश छोडेर भाग्नसक्ने खतरा भएको भन्दै राहदानी तुरुन्त जफत गर्न माग गरेका हुन्।
उनले नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रहरीलाई स्वतन्त्र रुपले काम गर्न दिनुपर्ने र प्रहरीले जुटाएको प्रमाण बीचमै हराउनु नहुने पनि बताए। उनले अपराधीलाई बचाउन खोजेमा रास्वपाले सडक र सदन दुवैमा जनताको आक्रोशलाई साथ दिने बताए।
उनले भने, ‘अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भागबन्डाको नियुक्ती हुन्छ भनेर यही रोष्टमबाट पटक–पटक भनिएको सबैलाई याद होला। खबरदार अपराधीलाई कुनै हालतमा बचाउन खोजियो भने राष्ट्रिय स्वतन्त्र पार्टीले सदन, सडक दुवैमा जनताको आक्रोशलाई साथ दिनेछ । देश छोडेर भाग्नसक्ने खतरा भएकोले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरुको राहदानी तुरुन्त जफत गरियोस्।’
उनले पार्टीभित्र भ्रष्टहरु पालेर संसदमा ठूला कुरा नगर्न राजनीतिक दलहरुलाई चेतावनी दिए।
Shares

प्रतिक्रिया