समाज


काम लगाइदिन्छु भनी भारत लगेर यौन व्यवसायमा लगाउने महिला पक्राउ

काम लगाइदिन्छु भनी भारत लगेर यौन व्यवसायमा लगाउने महिला पक्राउ

रासस
चैत २९, २०७९ बुधबार १२:२२, काठमाडौँ

आकर्षक रोजगारीमा लगाइदिन्छु भन्दै नेपालबाट दलालमार्फत पुर्‍याइएका महिलालाई खरिद गरेर यौन व्यवसायमा लगाउने मुख्य व्यक्तिलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ।

नेपालबाट महिलालाई ललाइफकाई भारतमा पुर्‍याउने दलाल पक्राउ परेको ६ वर्षपछि भारतमा कोठी सञ्चालन गर्दै आएकी सोनाम भन्ने हेरिङडोल्मा तामाङलाई नुवाकोट प्रहरीले विदुरबाट पक्राउ गरेको हो।

नुवाकोटको शिवपुरी गाउँपालिका–१ तलाखु निवासी ४० वर्षीया उनलाई भारतबाट नेपाल आएको समयमा काठमाडौँबाट रसुवा जाँदै गर्दा पीडितले दिएको सूचनाका आधारमा शनिबार पक्राउ गरिएको  नुवाकोट जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। उनका अनुसार ती महिलालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सोमबार नुवाकोट जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान थालिएको छ।

उनीमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐनअनुसार पीडितले दिएको उजुरीमा हदैसम्म (सर्वस्वसहित)को कारबाहीको माग गरिएको छ। 

'दलालले विवाह गर्नेदेखि रोजगारमा लगाइदिने भनेर झुटो आश्वासन दिई भारतको कोठीमा पुगेका पीडित दुई महिलाले दिएको उजुरीका आधारमा कोठी सञ्चालन गर्दै आएकी सोनामलाई पक्राउ गरेका छौँ,', प्रनाउ खड्काले भने, 'नेपाली महिलालाई भारत लैजाने दलाल कुमार तामाङलाई यसअघि नै २० वर्षको कैद फैसला भइसकेको छ भने उक्त अपराधमा जोडिएकी सोनामलाई थप अन्य पीडितले सोमबार दिएको जाहेरीका आधारमा अनुसन्धान भइरहेको छ।'

प्रहरीका अनुसार सोनामले भारतको जेबीरोडमा कोठी नं ६८ सञ्चालन गर्दै आइरहेकी छिन्। त्यहाँ उनले विभिन्न दलालमार्फत बालिका तथा महिलालाई खरिद गरेर यौन व्यवसायमा लगाउने गरेको देखिएको छ। उनलाई नेपालबाट त्यहाँसम्म बालिका तथा महिला पुर्‍याउने थप व्यक्तिलाई  प्रहरीले खोजी गरिरहेको जनाइएको छ।

नुवाकोट र काभ्रेका एक–एक महिलालाई उनले जनही पाँच लाख भारतीय रुपैयाँमा खरिद गरेर त्यहाँ यौन व्यवसायमा लगाएको पीडितले दिएको जाहेरी र प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। ती पीडित महिलालाई सिन्धुपाल्चोक जिल्लाको साविक राम्चे गाविस–१ का कुमारले बिक्री गर्न भारत पुर्‍याएका थिए।

काभ्रेका किशोरीलाई विसंं २०७३ वैशाखमा भारतमा फेसन डिजाइनरमा रोजगार लगाइने भनेर लगिएको थियो भने नुवाकोटकी महिलालाई भारतमा गएर बिहे गर्ने र उता आफैँले होटल सञ्चालन गर्ने भनेर लगिएको पीडितले दिएको जाहेरीमा उल्लेख छ।

'फरक–फरक समयमा भारतको कोठीमा पुगेका ती दुई महिला विसं २०७३ कात्तिक २५ गते भागेर नेपाल आएपछि उनीहरूले न्यायका लागि गरेको प्रयासमा सफलता मिलेको छ,' प्रनाउ खड्काले भने, 'कोठी सञ्चालक सोनामलाई यसअघि कुमारसँगको मुद्दामा पूरक अभियोग बनाइएको थियो भने अहिले पीडितले उनलाई नै मुख्य प्रतिवादी बनाएर जाहेरी दिएका छन्।'

नुवाकोटको पीडित महिलाले दिएको जाहेरीको आधारमा पक्राउ परेका सिन्धुपाल्चोकका कुमारलाई नुवाकोट जिल्ला अदालतले विसं २०७५ मङ्सिर १४ मा २० वर्षको कैद सजाय तोकेको थियो। कैद सजाय तोक्ने समयमा उनी ३५ वर्षका थिए।

अदालतको फैसलाअनुसार कुमार  विसं २०९४ मङ्सिर १४ सम्म कैद बस्नुपर्नेछ भने पीडितलाई रु ५० हजार क्षतिपूर्ति तिर्नुपर्ने तत्कालीन जिल्ला न्यायाधीश ऋषिकेश वाग्लेले गर्नुभएको फैसलामा उल्लेख थियो  ।

पीडित ती महिलालाई दलालमार्फत खरिद गरेर कोठी सञ्चालन गर्दै आएकी सोनाम उक्त मुद्दामा पूरक अभियुक्त बनाइएकामा अहिले नुवाकोटसहित काभ्रेका महिलाले आफूलाई खरिद गरेर यौन व्यवसायमा लगाउने प्रमुख व्यक्ति (प्रतिवादी) भनेर दिएको किटानी जाहेरीका आधारमा प्रहरीले थप अनुसन्धान अघि बढाएको हो।

पीडितको बयान, उनको फोन तथा सामाजिक सञ्जालको सम्पर्कमा उनीले भारत पुर्‍याएका दसभन्दा बढी किशोरी तथा बयस्क महिला हालसम्म पनि सम्पर्कविहीन छन्। उनीहरू पनि सोही अपराधमा पीडित भएको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad