अडिओ प्रकरणका कारण विवादमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले आफूलाई कारबाही अगाडि बढे चुप नबस्ने चेतावनी दिएका छन्।
उनीमाथि पार्टीले कारबाही गर्ने तयारी गरिरहेका बेला सभापति रवि लामिछाने निकट नेताहरूलाई फोन गरी सांसद श्रेष्ठले सो कुरा बताएका हुन्।
‘मलाई कारबाही भयो भने म आफ्नो बाटोमा अघि बढ्नपर्छ भनेर उहाँले चेतावनी दिनुभएको छ, उहाँ एग्रेसिभ हुनुहुन्छ’, एक नेताले नेपालखबरसँग भने।
ढाकालले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आफू मन्त्री बन्न २ करोड पैसा चाहिने भन्दै मागेको अडिओ आइतबार सार्वजनिक भएको थियो। त्यसलगत्तै रास्वपाले उनीविरुद्ध अनुसन्धान र छानबिन गर्न अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको थियो। चार सदस्यीय समितिमा डा. भरतमणि देवकोटा संयोजक छन्।
मंगलबार अनुशासन समितिसमक्ष बयान दिँदै ढाकाकुमारले अडिओको आवाज आफ्नो नभएको जवाफ दिएका थिए।
रास्वपाका नेताहरुका अनुसार ढाकाको कारबाहीको निर्णय गर्न अहिले दिउँसो २ बजेपछि काठमाडौँमा पार्टीको केन्द्रीय समितिको बैठक बस्दै छ। त्यसलगत्तै पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गर्ने तयारी भइरहेका बेला ढाका भने रास्वपाका अरु नेताहरुका पनि पोल खोल्ने चेतावनी दिँदै हिँडेका हुन्।
यस विषयमा बुझ्न नेपालखबरले ढाकालाई निरन्तर फोन गर्दा पनि सम्पर्कमा आउन चाहेनन्।
Shares

प्रतिक्रिया