समाज


हलचोक पुगे गृहमन्त्री, सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको डेडिकेटेड फोर्स बनाउने

हलचोक पुगे गृहमन्त्री, सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको डेडिकेटेड फोर्स बनाउने

हलचोकमा गृहमन्त्री र सशस्त्र प्रहरी बलका अधिकृतहरु


नेपालखबर
चैत २१, २०७९ मंगलबार १५:४५, काठमाडौँ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार सशस्त्र प्रहरी बलको हलचोकस्थित प्रधान कार्यालयको निरीक्षण गरेका छन्।

मंगलबार दिउँसो त्यहाँ पुगेका उनले वरिष्ठ अधिकृतहरुसँग छलफल तथा निर्देशन दिएका छन्।

श्रेष्ठले त्यस क्रममा बोल्दै शान्ति, सुरक्षा, प्रतिबद्धताको मुल मन्त्रलाई आत्मसाथ गरी नागरिकको सुरक्षा, सीमा सुरक्षा, राजश्व सुरक्षा, औद्योगिक सुरक्षा कायम गर्ने कार्य सराहनीय रहेको बताए। 

उनले राज्यले सुम्पिएका जिम्मेवारीहरु साथसाथै सशस्त्र प्रहरी बलले भैपरि आउने विषम परिस्थितिमासमेत आफ्नो क्षमता, व्यावसायिकता र उच्च पेशागत दक्षता प्रदर्शन गरी राज्यको अब्बल सुरक्षा निकायका रुपमा आफ्नो पहिचान स्थापित गर्न सफल रहेको चर्चा गरे।

श्रेष्ठले निष्पक्ष र छिटोछरितो सेवा प्रवाहमार्फत मुलुकको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन अझै मिहेनतका साथ कार्यसम्पादन गरी भ्रष्टाचार र आर्थिक अनुशासनका सवालमा सम्झौता नगरी निर्मम रुपमा प्रस्तुत हुन पनि आग्रह गरे।

उनले संगठनलाई नेपाल सरकारले तोकेको जिम्मेवारी अनुरुपको कार्य प्रभावकारी ढंगले सम्पादन गर्न मौजुदा दरबन्दी संरचना पुनर्संरचना गर्ने गरी संगठन तथा व्यवस्थापन कार्यलाई अगाडि बढाउन गृहमन्त्रालयको आवश्यक सहयोगमा कमी नहुने बताए। 

सशस्त्र प्रहरीले न्यून सेवा सुविधा र अपर्याप्त स्रोत साधनका बाबजुद कतिपय ठाउँमा भाडाको घर, अस्थायी संरचनामा बसेर, कतिपय ठाउँमा जीर्ण अवस्थाका आवास तथा भवनबाट नागरिकलाई सेवा र सीमा सुरक्षा गरिरहेको पनि उनले उल्लेख गरे। 

भौतिक पूर्वाधार निर्माण र संगठनको क्षमता बढाउने विषयमा गृहमन्त्रालयको तर्फबाट आवश्यक सहयोग रहने उनले बताए।

सशस्त्र प्रहरी बललाई सीमाको डेडिकेटेड फोर्स बनाउन अन्तर्राष्ट्रिय मापदण्डसहितको थप बिओपीहरुको स्थापना, अहिलेका बिओपीहरुको स्तरवृद्धि गर्दै समग्र संगठनलाई नै प्रविधिमैत्री एवं चलायमान बनाउनु पर्ने उनले उल्लेख गरे।

सुरक्षाकर्मीको लागि मापदण्ड अनुसारको पोशाक, सशस्त्र प्रहरी कर्मचारीलाई उपलब्ध हुने रासनको न्यायोचित वितरण तथा अन्य सेवासुविधामा उचित ध्यान पुर्‍याइने उनको भनाइ थियो। 

कार्यक्रममा धन्यवाद दिँदै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षा आफैमा जटिल, संवेदनशील र चुनौतीपूर्ण विषय भएको बताए। 

उनले अन्य सुरक्षा निकायहरुसँग निकट समन्वयका साथ राज्यप्रदत्त कार्यादेशलाई कुशलतापूर्वक बहन गर्दै सरकार तथा गृह मन्त्रालयका नीति, कार्यक्रम, आदेश, निर्देशनहरुलाई अक्षरशः पालना गरी इमान्दारीसाथ परिचालन भइरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad