ad ad

समाज


कर हेरफेर आरोप लागेका पूर्वनासु घिमिरेविरुद्ध सवा दुई करोडको भ्रष्टाचार मुद्दा

कर हेरफेर आरोप लागेका पूर्वनासु घिमिरेविरुद्ध सवा दुई करोडको भ्रष्टाचार मुद्दा

नेपालखबर
चैत १९, २०७९ आइतबार १७:४०, काठमाडौँ

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको पालामा बजेट निर्माणका क्रममा भएको कर हेरफेर प्रकरणमा जोडिएका पूर्व नायव सुब्बा रघुनाथ घिमिरेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवा दुई करोडको भ्रष्टाचार मुद्दा चलाएको छ। 

घिमिरेले एयरपोर्ट भन्सार, विभिन्न भन्सार कार्यालय र राजश्व अनुसन्धान विभागमा राजश्व हिनामिना गरी राजश्व छलेको, गैरकानुनी काम गरी राजश्वका विभिन्न कार्यालयबाट करोडौं सम्पत्ति कमाएर श्रीमती लगायत परिवारका सदस्यहरुको नाममा लुकाएको अभियोगसहित अख्तियारले मुद्दा चलाएको हो। 

उनले त्यो रकमले विभिन्न कम्पनीहरुमा लगानी, शेयर र जग्गा खरिद लगायतमा लगानी गरेर भ्रष्टाचार गरेको उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो। 

घिमिरेले २०५२ कात्तिक २८ देखि २०७९ पुस १२ गतेसम्म सार्वजनिक जिम्मेवारीमा रहँदाको पारिश्रमिक, श्रीमती शारदा गौतमको पारिश्रमिक, छोरीको पारिश्रमिक आय, कर्मचारी संचयकोष लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको कर्जा, जग्गा बिक्री, घर बहाल (घर भाडा), कम्पनी लाभांश वापत प्राप्त वैधानिक आय, श्रीमती शारदा गौतमले अभिकर्ता कमिसन वापत प्राप्त रकम, राजश्व अनुसन्धान विभागबाट प्राप्त पुरस्कार, शेयर बिक्री, नगद लाभांश आय (शेयर प्रतिफल) र अवकाश पश्चात प्राप्त आयसमेत गरी जम्मा ५ करोड २५ लाख १६ हजार ३२७ रुपैयाँ ४४ पैसाको वैधानिक आयस्रोत खुलेको अख्तियारले जनाएको छ। 

उनले जम्मा गरेको ७ करोड ३९ लाख ६२ हजार ९८४ रुपैयाँ ६७ पैसामध्ये २ करोड १४ लाख ४६ हजार ६५७ सय २४ पैसाको वैधानिक स्रोत पुष्टि हुन नसकेकोले भ्रष्टाचार मुद्दा चलाइएको अख्तियारले जनाएको छ। 

उनीविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन¸२०१७ को दफा १५ एवम् प्रचलित भ्रष्टाचार निवारण ऐन¸२०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूरमा २ करोड १४ लाख ४६ हजार ६५७ रुपैयाँ २४ पैसा विगो कायम गरी मुद्दा चलाइएको हो। 

उनले गैरकानुनी रुपमा आर्जन गरेको र श्रीमती शारदा गौतमको नाममा हाल कायम स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको र अपुग विगोको हकमा स्रोत खुलेको सम्पत्तिबाट साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा ३, दफा १६ (ग), दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा २९ ख. बमोजिम जफत गर्न पनि अख्तियारले माग गरेको छ।

अख्तियारले घिमिरे र पत्नी गौतमलाई प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई निजको नाममा हाल कायम सम्पत्तिमध्येबाट बिगो जफत गरी पाउन मागदावीसहित अख्तियारले विशेष अदालतमा मुद्दा चलाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .