क्यूएफएक्स लगायत देशभरका हलहरूमा यतिबेला एनटीआर जुनियर स्टारर तेलुगु सिनेमाको हिन्दी डब्ड भर्जन प्रदर्शनरत छ। कोराताला शिवाद्वारा लिखित एवं निर्देशित यस फिल्ममा बलिउडका स्थापित कलाकार सैफ अली खान पनि मुख्य भूमिकामा छन्। यसका अलावा भारतीय सिनेमाकी हस्ती श्रीदेवीपुत्री जाह्न्वी कपुर र जुनियर एनटीआरको फिल्मी जोडी पनि चर्चाको विषय बनिरहेकै छ। आउनुस्, सबै चासो र चर्चालाई छेउ लगाउँदै यस बसाइमा भने फिल्मको कथा के हो? कसरी भनिएको छ? र फिल्म कस्तो बनेको छ? यसैबारे कुरा गरौँ।
त्यसो त, दया र यति- यी दुई खुङ्खार तस्करहरूलाई समाउन भनी प्रहरीको एउटा टोली मुम्बईबाट आन्ध्र प्रदेशको एउटा समुन्द्री उपत्यका पुग्छ, जहाँ जम्मा चार गाउँ छन्। चार गाउँलाई बाँधेर राख्ने काम गरेको छ समुद्र र संस्कृतिले। छैन त रोचक? पक्कै रोचक छ र त दया र यति खोज्न बिर्सिएर प्रहरीको टोली त्यस चार गाउँ, समुद्र र त्यहाँको संस्कृतिको कथा सुन्न थालिदिन्छ। समुद्रको रक्षक देवरा र उसले चार गाउँभर मच्चाइराखेको त्रासदीको कथा सुन्न थाल्छन्।
त्यो कथा के हो त?
एकादेशमा एउटा बलवान्, पहलमान बाबू हुन्छ जो आफ्नो छोरोलाई आफ्ना पुर्खाको कथा सुनाइरहन्छ। तर, छोरोले आफ्नै कथा सुन्न चाहिदिँदा पो ऊ झस्किदिन्छ- लौ, ऊसँग त सुनाउनलायक कथा नै पो केही रहेनछ। फेरि धेरै समय नबित्दै ऊ दोस्रोपटक झस्किदिन्छ- ऊ त आजसम्म सुनाउनसम्म नालायक कथाको पात्र भएर पो बाँच्दैरहेछ! प्रण गरिहाल्छ पनि- अब ऊ कुनै पनि हालतमा त्यस नालायक कथाको पात्र बन्नेवाला छैन। न त चार गाउँभरि नै कसैलाई त्यस समुद्रमा हुने नालायक कामको साक्षी बन्न दिनेछ!
कथामा द्वन्द्व तब सुरु हुन्छ, जब उसका कुरामा अधिकांश गाउँले सहमत हुन सक्दैनन्। द्वन्द्व थामिनुको सट्टा झन् चर्किँदै गएपछि उसले घोषण गर्छ कि अब ऊ अदृश्य भएर त्यस समुन्द्रको रक्षा गर्नेछ। त्यसपछि, बाबू देवरा एउटा भूत भएर गाउँलेहरूमा मृत्युको एउटा सनसनीपूर्ण त्रास फैलाइरहन्छ।
बाबूको कथा सुन्दै गर्दा छोरो त छायाँमा परेजस्तो लागेन? तर, अब पालो छोरोकै त हो। किनभने, आखिर छोरो देवरा जुनियर भएर निस्किन्छ। त्यसमाथि पनि एउटा ट्विस्ट बोकेर।
खैर, ट्विस्टको भारी बिस्तारै फुकाउँला। अहिलेलाई भने पटकथाको कुरा गरौँ!
पटकथामा केही नयाँ भेटिन्छ कि?
यद्यपि, पात्रहरूको चरित्र स्थापनामा पटकथाले राम्रै समय छुट्याएको छ जुन प्रशंसनीय छ। समुद्रबाट सामान निकासी गर्दा देवरा र भैराबीच सोच्ने शैलीको भिन्नता देखाउन गरिएको मिहेनत राम्रो लाग्छ। त्यस दृश्यले भैरालाई जोखिम मोल्न नहिचकिचाउने र सनकी पात्रको रूपमा स्थापित गर्नेछ भने देवरालाई जोखिम तौलिएर निर्णय गर्ने, सक्दो सावधानी अपनाउने पात्रको रूपमा स्थापित गर्नेछ।
पात्रको स्वभावबारे यति जानकारी दिइसकेपछि पटकथाले देवरालाई छोरोसँगको संवादको निहुँ गरेर जीवनलाई लिएर उसको उद्देश्य कस्तो छ भन्नेबारे समेत दर्शकलाई थाहा दिन लगाउँछ। साथै, छोरोको पछिल्लो रूपान्तरणको लागिसमेत यही दृश्य आधारभूत बनिदिनेछ।
मानसिक तहमा भैराभन्दा देवराको सुझबुझ बलियो छ भन्ने अघिल्ला दृश्यहरूबाट पुष्टि भइसकेकै छन्। त्यसपछि, भौतिक/शारीरिक रूपमा पनि भैराभन्दा देवरा नै अघि छ भन्ने विश्वास दर्शकलाई दिलाउन 'वान टु वान' एक्सनको दृश्य राखिएको छ। त्यो एक्सनको विश्वसनीयताको लागि चारगाउँको संस्कृतिको रूपमा शस्त्र पूजालाई अघि सारिएको छ। त्यसपछि आउने दृश्यहरूमा शस्त्र र शस्त्र पूजाको सान्दर्भिकता समेत झल्किन्छ।
यसो भनौँ, नयाँ स्वाद नभेटिए तापनि पुरानो स्वादमै पनि पटकथा मीठै लाग्छ। तर, एउटा बिन्दुसम्म। कहाँसम्म? त्यो पनि खुल्दै जाला। अहिलेलाई भने पात्रहरूको कुरा गरौँ।
पात्र
त्यसो त बाहुबलीको 'कटप्पा' याद दिलाउने गरी 'सिङ्गाप्पा'! 'मेरा बेटा आएगा' शैलीमै देवरालाई पर्खिरहेकी आमा, अनि बाहुबली शैलीमै फर्किएको 'देवरा' जुनियर! देवराका पात्रहरूमा बाहुबलीका पात्रहरूको छनक देखिए तापनि यी पात्रले दर्शकको हृदयमा उति नै जोडले हिर्काउन भने सक्दैनन् जति जोडले हिर्काउन हिजो बाहुबलीका पात्र सक्षम थिए। किन त? किनभने, देवराका पात्र-पात्रबीच संवेदनात्मक सम्बन्ध स्थापना हुन सकेको छैन।
देवरा आरामले घर आइसकेपछि बल्ल आमाले भन्छे- खोइ तेरो अनुहार हेरूँ। तेरो अनुहार नहेरी म निदाउन सक्दिनँ! तर, मेरी आमा मेरो अनुहार नहेरी निदाउन सक्दिन भन्ने बुझेर देवरा साथीहरूलाई छोडेर हस्याङफस्याङ गर्दै, दगुर्दै घर आई आफू स्वयं नै आमा खोज्दै उसका अघि पुग्थ्यो भने? मुख्य पात्र देवराले नै उति गम्भीरतासाथ नलिएकी आमा पात्रलाई दर्शकले पनि उति गम्भीर रूपमा लिन सक्नेछैनन्।
सिङ्गाप्पा पनि उही परबाट न हेर्छ देवरालाई। गाउँले-गाउँले हुनुबाहेक उनीहरूबीच खास सम्बन्ध केही पनि देखिँदैन। त्यसैले, जुनियर देवरासँग अचानक सिङ्गाप्पा नजिकिएको दृश्यले पनि दर्शकलाई खाससँग छुँदैन।
न देवरालाई कहिल्यै उसकी छोरीसँग खेलेको देखियो। न त बराहलाई नै उसकी बहिनीसँग कहिल्यै देखियो। तर, अचानक पात्र र कथा सबै हुर्किसकेपछि बराह आफ्नी बहिनीको लागि रक्षक भएर उभिएको दृश्य विश्वसनीय लाग्दैन। 'ए!' लेघ्रो तानेर दर्शकले बस् यति नै मात्र भन्न सक्नेछ!
उता भैराको छोरो पशुराको जसरी उदय हुन्छ, अस्त उसैगरी नहुँदा दर्शकलाई खल्लो नै लाग्नेछ। थङ्गमालाई बराहको पछि जति पागल देखाइएको छ, बराहलाई भने त्यसको केही प्रतिशत पनि थङ्गमाको लागि सोच्ने फुर्सद मात्र पनि दिइएको छैन। जसकारण उनीहरूबीच न त प्रेमको स्थापना हुन सकेको छ, न त 'थङ्गमा' पात्रको हुनुले नै कथामा केही विशेष फरक पार्न सकेको छ।
क्यारेक्टर आर्कको कुरा गर्ने हो भने मुख्य पात्र देवरा 'ग्रे' बाट सुरु भएर 'ह्वाइट' जोनमा पुगेको पात्र हो भने भैरा सुरुदेखि अन्त्यसम्म पनि 'ब्ल्याक' जोन नछोडेको एउटा 'डार्क' पात्र हो।
तर, देवरा नं २ ऊर्फ 'बराह'को क्यारेक्टर आर्क भने 'देवरा २' नहेर्दै भन्न पक्कै सकिँदैन। खैर, यही पात्रको कुरा गरौँ। तपाईं यो पात्रलाई कत्तिको विश्वास गर्नुहुन्छ? स्पोइल नगरेरै यो पनि सोधिहालूँ, १२/१३ वर्षको उमेरमा उसले जे गर्यो भन्ने सुनियो नि, के त्यो यथार्थमै उसले गर्यो होला? ऊ २५ वर्ष पुग्दैगर्दा कस्तो देखिनेछ उसलाई पहिल्यै थाहा रहेछ कि? फेरि त्यस नाउभरि झुण्डिएका लासहरूको पछाडि देवराको हात थिएन भने कसको थियो होला? देवरा जुनियरको? त्यस उमेरमा?
साँच्चै?
वैचारिक पक्ष
फिल्मले सुनाउने कथासँगसँगै बग्दै गर्दा कहिलेकाहीँ उसको विचार पक्षलाई नजरअन्दाज गरिँदो रहेछ। तर, यसपटक लेखकसमेत आफै रहेका निर्देशक कोराताला शिवाको 'देवरा १'ले जुन विचार वा चिन्तनमा टेकेर कथा सुनाइरहेको छ त्यो चिन्तनले सचेत दर्शकलाई पक्कै बिझाउनेछ। के हुन् त ती बिझाउने कुरा?
बाहुबलीको प्रसङ्ग माथि पनि नआएको होइन। फिल्मलाई धेरैले एसएस राजामौलीको बाहुबलीबाट प्रेरित भनिरहेकै छन्। केही पात्रमा तिनको छायाँ नदेखिने पनि होइन। तर, बिझाउने कुरो के हो भने बाहुबलीमा नारी पात्रहरू जति सशक्त रूपमा आएका थिए त्यसको ठीक विपरीत 'देवरा १'मा भने नारी पात्रलाई एउटा रुढी आचारभित्र सीमित गराउन खोजिएको महसुस हुन्छ। शस्त्र पूजाको समय युवा पुरुषहरूबीच 'दंगल' सुरु हुनै लाग्दा भनिन्छ- 'सबै नारी र केटाकेटीहरू घर जाओ!' मानौँ नारीले 'दंगल' खेल्न त के हेर्न मात्र पनि सक्दिन! कहाँकी 'देवसेना' अनि कहाँका 'थङ्गमा र सहेलीहरू'।
त्यसो त १९८० अर्थात् पुरानो समयको कथा हो। तर, १९३०/३१ मै ब्रिटिस शासनविरुद्ध आन्ध्र प्रदेशबाटै लड्ने विद्रोहीहरूमा महिलाको उपस्थिति उल्लेख्य थियो। १९३० मा आन्ध्र प्रदेशबाट स्वतन्त्रताको लागि लडेकी 'दुर्गाबाई देशमुख'ले त १९३७ मा आन्ध्र महिला सभाको स्थापनासमेत गरी महिला सशक्तीकरणको अभियानसमेत सञ्चालन गरेकी हुन्। १९३० मै सडकमा पुरुषसँगसँगै विद्रोहमा उत्रिएका आन्ध्र प्रदेशका महिलाहरूलाई निर्देशक शिवाले १९८० को कथामा कमजोर देखाउनु, वस्तुकरण गर्नुलाई २०२४ का सचेत दर्शकले निर्देशकले गरेको सिनेम्याटिक लिबर्टीको प्रयोग मानेर जान देलान् त?
त्यसो त अर्को बिझाउने पक्ष यसको रङ्गभेदी चिन्तन पनि हो। गाउँभरिमा (तुलनात्मक रूपमा) श्वेत वर्णका पात्र बराह र थङ्गमा हुन्। थङ्गमालाई पुरुषमा चाहिने गुण बराहमा छैन, तापनि ऊ उसैप्रति मरिहत्ते गर्छे। मानौँ, गोरी युवतीले गोरो युवकलाई बाहेक अन्यलाई प्रेम गर्नै सक्दिन वा गर्नै हुँदैन। अनि, बाँकी सारा युवतीहरू पनि गाउँभरिका (श्याम वर्णका) युवालाई नजरअन्दाज गरेर वा मुखै फोडेर छेउ लाग्न भनेरै पनि बराहको पछि पागल भएर कुदिरहेका छन्। यसलाई कसरी बुझ्ने? दर्शककै जिम्मा!
फिल्मको राम्रो पक्ष भनेको यसका कलाकारहरूको अभिनय हो। देवराको भूमिकामा एनटीआर जुनियरको काम उत्कृष्ट लाग्छ। भैराको भूमिकामा सैफ अली खानको काम एनटीआरको भन्दा कम लाग्दैन। क्यामिओमा मुरली शर्मा, अजय, अभिमन्यु सिंहको काम सन्तोषजनक लाग्छ। जोगुलाको भूमिकामा जरीना वहबको काम थोरै भए पनि यादगार छ। थङ्गमाको भूमिकामा जाह्न्वी कपुरको काम आँखामा बिझाउँदैन। सिङ्गाप्पाको भूमिकामा प्रकाश राज स्मरणीय छन्। रायाप्पाको भूमिकामा श्रीकान्तको काम उल्लेखयोग्य लाग्छ। बाँकी सबै कलाकारले पनि आ-आफ्नो भूमिकामा सन्तोषजनक काम गरेका छन्।
जाँदाजाँदै, एक्सन ड्रामा सिनेमा भनिए पनि युद्धका अधिकांश दृश्य अँध्यारोमा खिचिएका कारण हुनसक्छ द्वन्द्वको स्पष्ट दृश्य दर्शकको आँखाभन्दा मुनि ओर्लिहाल्न सक्दैन। हेरुन्जेल आँखालाई रोमाञ्च भए पनि पछिसम्म फर्कीफर्की आँखामा आइरहने दृश्य देवरामा छैन भन्दा पनि फरक नपर्ला। एक्सनको कोरियोग्राफीमा गरिएको मिहेनतभन्दा बढी शस्त्रको डिजाइनिङमा गरिएको मिहेनत टड्कारो महसुस हुन्छ। समुद्रको रक्षक देवराले प्रयोग गर्ने शस्त्रको आकार डल्फिनसँग मिल्नु, सामान ओसारपसार गर्दा माछाजसरी अर्कोसँग ठोकिन खोज्दै फेरि आफ्नै बाटो लाग्नु कलात्मक रूपमा सुन्दर लाग्छन्।
यद्यपि, देवराको कथा जहाँ पुगेर जसरी अन्त्य भएको छ त्यसले दर्शकलाई मानौँ छल गरेर कुनै अग्लो भिरमा लगी झुण्ड्याइएको महसुस गराउनेछ। न उफ्रिएर बाँचिने, न त झुण्डिरहेर!
Shares

प्रतिक्रिया