ad ad

समाज


दसैँअघि सञ्चालनमा आउलान् हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीका २ सडक

हामी रातदिन नभनी काम गरिरहेका छौँ: इन्जिनियर
दसैँअघि सञ्चालनमा आउलान् हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीका २ सडक

सुनिता विष्ट
असोज १८, २०८१ शुक्रबार ७:५८, काठमाडौँ

संघीय राजधानी काठमाडौँलाई बागमती प्रदेशको राजधानी हेटौँडासँग जोड्ने छोटो दूरीका दुईवटा वैकल्पिक मार्ग यतिबेला अवरुद्ध छन्। 

हेटौँडा–भीमफेदी–कुलेखानी–काठमाडौँ सडक र कान्ति लोकपथ अवरुद्ध अवस्थामा छन्। हेटौँडा भीमफेदी कुलेखानी सडक अन्तर्गतकै भीमफेदी–सिस्नेरी–कुलेखानी र फाखेल कुलेखानी सडक पनि अवरुद्ध छ। 

गत बिहीबारदेखि परेको अविरल बर्षाका कारण आएको बाढी पहिरोका कारण यी सडकको डेढ दर्जनभन्दा बढी ठाउँमा सडक भत्किएको छ। सानातिना पहिरो स्काभेटरले पन्छाए पनि ठूलाठूला पहिरो पन्छाउन सकिएको छैन। त्यसमा पनि विभिन्न ठाउँमा मोटरेबल पुल नै बाढीले बगाएपछि सडकमा यातायात सञ्चालन चुनौतीपूर्ण देखिएको छ। 

दसैँको बेला छोटो दुरीका यी सडकबाट यात्रा गर्न पाइन्छ कि पाइँदैन भन्ने जिज्ञासा यात्रुहरुलाई छ। 

हटौँडा–काठमाडौँ आउजाउ गर्ने सवारी यतिबेला त्रिभुवन राजपथ अन्तर्गत पर्ने हेटौँडा–पालुङ–चन्द्रागिरि हुँदै काठमाडौँ पुग्ने गरेका छन्। 

ओलखढुंगा, खोटाङ, सोलुखुम्बु, भोजपुर जस्ता पूर्वी पहाडी जिल्लामा जाने कतिपय साना सवारी साधन पनि यतिबेला हेटौँडा–पालुङ–चन्द्रागिरि- काठमाडौँको सडकमा गुडिरहेका देखिन्छन्।

छोटो दुरीका धेरैवटा वैकल्पिक मार्ग हुँदा हेटौँडा-काठमाडौँ आवत जावत सहज थियो। तर, बाढी पहिरोले दुईवटा मुख्य सडक नै अवरुद्ध हुँदा चाडपर्वको मुखमा हजारौँ यात्रुले सास्ती खेप्न परेको छ। 

हेटौँडा-काठमाडौँ छोटो दुरीका अवरुद्ध सडक खुलाउन सोमबारदेखि नै तीनै तहका सरकार लागि लागिपरेका उक्त सडक खण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिकाका जनप्रतिनिधिले बताएका छन्। 

चाडपर्वका समयमा यात्रुहरुको सहजताका लागि हेटौँडा र काठमाडौँ दुवैतर्फबाट सडक मर्मतको काम भैरहेको छ। तथापि, सडकको अवस्था निकै बिग्रेको कारण मर्मतका लागि केही समय लाग्न सक्ने प्रदेशको यातायात पूर्वाधार विकास निर्देशनालय हेटौँडाका इञ्जिनियर अभिसेक मरासिनीले बताए। 
 
तर पनि फूलपातीको दिन अथवा अघिल्लो दिनसम्म उक्त सडक सञ्चालनमा ल्याउनका लागि रातदिन काम भइरहेको मरासिनीको भनाइ छ। 

‘यही दिन यी सडक सञ्चालनमा ल्याउन सकिन्छ भन्ने स्थिति त छैन,’ उनले नेपालखबरसँग भने,  ‘तर काम तीव्र रुपमा भैरहेको छ। कुलेखानी ड्याम तलको पुलमा मर्मत र सिस्नेरीको सडक मर्मत सकिएपछि बाटोमा गाडी गुड्न थाल्छन्।’

बाढीले मकवानपुरको कुलेखानी जलविद्युत केन्द्रको जलाशाय भरिएपछि गएको  शनिबार बाँधको पानी खोलिएको थियो। त्यो पानी खोल्दा इन्द्रसरोवर गाउँपालिका–३ मा पर्ने सिस्नेरी बजार समेत बगाएको छ। 

सोही दिन पहिरोमा परेर एन्फाका ६ जना विद्यार्थीले समेत ज्यान गुमाए। सोही पानीका कारण सिस्नेरीमा पर्ने सडक नै खोलाको बगरमा परिणत भएको छ। पुल भत्किएको अवस्था छ। यतिबेला हेटौँडा र संघीय राजधानी आवतजावत गर्नका लागि प्रदेश सरकारका मन्त्री आफैँ त्रिभुवन राजपथ अन्तर्गत पर्ने हेटौँडा–पालुङ–चन्द्रागिरि–काठमाडौँ सडकको प्रयोग गरिरहेका छन्। 

सधैँ प्रयोग गर्ने छोटो दूरीका सडक अवरुद्ध हुँदा ती सडक सञ्चालन गर्न प्रदेश सरकारले पनि उत्तिकै चासो देखाएको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने बताउँछन्। 

सरकारका प्रवक्ता समेत रहेका लामिछानेले भने, ‘अवरुद्ध सडक मर्मतका लागि प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालय, सडक विभाग, प्रदेशको यातायात पूर्वाधार विकास निर्देशनालय लगायतको टोली यतिबेला पनि फिल्डमै खटिएको छ।’

यता, भीमफेदी गाउँपालिका–८ मा पर्ने बगुवाको पुल बागमती नदीले बगाएपछि कान्तिलोकपथको सडक पनि पूर्ण रुपमा अवरुद्ध छ। यो पनि हेटौँडालाई संघीय राजधानी काठमाडौँसँग जोड्ने अर्को छोटो र सबैभन्दा पुरानो मार्ग हो।

कान्ति लोकपथ मर्मतका लागि भने बागमती प्रदेश सरकारले कुनै योजना बनाएको छैन। ललितपुर र मकवानपुरको सीमा क्षेत्रमा पर्ने बगुवाको मोटरेबल पुलको आधा भाग नै बागमती नदीले बगाएका कारण कान्तिलोकपथ दसैँअघि खुल्ने सम्भावना न्यून देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .