ad ad

समाज


देशका विभिन्न स्थानमा वर्षा जारी, चट्याङ र हावाहुरीबाट बच्न २४ घण्टे चेतावनी

देशका विभिन्न स्थानमा वर्षा जारी, चट्याङ र हावाहुरीबाट बच्न २४ घण्टे चेतावनी

नेपालखबर
चैत १८, २०७९ शनिबार ६:२०, काठमाडौँ

आज (शनिबार) पनि देशभर मौसम बदली भएको छ भने देशका विभिन्न स्थानमा वर्षा जारी छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले बिहान ६ बजे दिएको जानकारीअनुसार हाल लुम्बिनी, सुदूरपश्चिम, कोशी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। यस्तै मधेश प्रदेशका पनि एक दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित वर्षा भइरहेको छ। 

‘काठमाडौँ उपत्यकामा भने अहिले वर्षा रोकिएको छ’, मौसमविद् झाले नेपालखबरसँग भने, ‘दिउँसोचाहिँ हिजोजस्तै मेघगर्जन/चट्याङसहित पानी पर्ने सम्भावना छ।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली भई कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

महाशाखाका अनुसार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। 

‘रातिबाट यो प्रणाली (पानी पार्ने प्रणाली) कमजोर हुँदै जाने देखिएको छ’, मौसमविद् झाले भने, ‘यसो भनेर पानी नै नपर्ने भने होइन, पहाडी भेगमा वर्षाको सम्भावना छ, तर आजजस्तो धेरैतिर वर्षा हुँदैन।’ 

यसैबीच मौसम महाशाखाले आगामी २४ घण्टाका  लागि  चेतावनी  तथा  परामर्श जारी गरेको छ। 

जसमा भनिएको छ– कोशी, बागमती तथा गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना हुनाले मेघगर्जन/चट्याङ तथा  हावाहुरीबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .