रौतहटमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ।
राजदेवी नगरपालिका १ पथरा निवासी २५ वर्षीय गजेन्द्र दासको स्थानीयको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक (डीएसपी) उमाशंकरप्रसाद यादवले जानकारी दिए।
घटना तीन दिनअघिकै भएपनि प्रहरीले ढिलोगरी घटना विवरण सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार गएको बुधबार होलीको दिन स्थानीय गणेश यादवसहितका तीनजनाको समूहले दासलाई कुटपिट गर्दा उनी गम्भीर घाइते भएका थिए। घटनाको भोलिपल्ट उनको आफ्नै घरमा मृत्यु भएको प्रहरीले जनाएको छ।
‘ज्यान जानेगरी कुटपिट हुँदा पनि उनलाई उपचारको लागि कहिँकतै लगेको देखिँदैन,’ डीएसपी यादवले नेपालखबरसँग भने, ‘कुटपिटबाट घाइते युवकको घरमै मृत्यु भएको पाइएको छ।’
मृत्यु भएपछि मात्रै घटनाको विषयमा प्रहरीलाई जानकारी आएको उनले बताए।
डीएसपी यादवका अनुसार होलिको दिन (२४ फागुन) दासले गाउँकै एक बालिकालाई घर अगाडि बाटोमा समाएर अबिर दलेपछि भएको विवादमा उनीमाथि कुटपिट भएको हो।
मृतक युवक सुस्त मनस्थितिका थिए। अबिर दलेपछि बालिका रोएकी थिइन्। त्यसपछि उनका अभिभावक आएर युवकलाई निर्घात कुटपिट गर्दा उनी गम्भीर घाइते भएका थिए।
घाइते युवकलाई परिवारका सदस्यले उपचारको लागि कहिँकतै लगेनन्। भोलिपल्ट उनको मृत्यु भएको परिवारका सदस्यले बताएका छन्।
कुटपिटमा संलग्न तीनैजना फरार भएका छन्। घटनामा संलग्न भएको आरोपमा मृतकका अभिभावकले स्थानीय गणेश यादवसहित तीनजना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन्।
घटनाको थप अनुसन्धान र फरार व्यक्तिहरुको खोजी भइरहेको प्रहरी उपरीक्षक यादवले जानकारी दिए।
Shares

प्रतिक्रिया