आर्थिक अनियमितता गरेको आरोपमा नेपाली सेनाका उपरथी प्रेमप्रकाश शाहीमाथि छानबिन अघि बढिरहेका बेला अरु दुईजना कर्णेल पनि पक्राउ परेका छन्।
शाहीले अनियमितता गरेको ठहर कोर्ट अफ इन्क्वाइरी (अनुसन्धान समिति)ले निष्कर्ष निकालेको केही दिनमै थप दुईजना कर्णेल समातिएका हुन्।
कोर्ट अफ इन्क्वाइरीको प्रतिवेदनपछि सैनिक मुख्यालयले शाहीविरुद्ध आइतबार कोर्ट मार्सल (सैनिक अदालत) गठन गरेको थियो।
यस्तोमा सैनिक मुख्यालयले शाहीसँगै अनियमिततामा जोडिएको जनाउँदै महासेनानी महेन्द्र शाह र प्रमुख सेनानी कुलदीप तिम्सिनालाई पक्राउ गरेर अनुसन्धान थालेको हो।
उपरथी शाहीले अनियमितता गरेको ‘कोर्ट अफ इन्क्वाइरी’को ठहर, ‘कोर्ट मार्सल’ गठन
सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार शाहीसँगै अनियमिततामा उनीहरुको पनि संलग्नता रहेको कोर्ट अफ इन्क्वाइरीले खुलाएपछि अनुसन्धान थालिएको हो।
'कोर्ट अफ इन्क्वाइरीले अनियमिततामा शाही र तिम्सिनाको पनि संलग्नता देखाएपछि उहाँहरुलाई पनि कारवाही गर्न कोर्ट मार्सल थालिएको छ', उनले भने, 'दुवै जनाविरुद्ध सैनिक अदालतमा कारबाही अघि बढाइएको छ।'
यसअघि सेनाले शाहीविरुद्ध अदालती प्रक्रिया सुरु गरिसकेको छ। उनी दोषी भएनभएको र सजाय के कति हुने भन्ने कोर्ट मार्सलले टुंगो लगाउनेछ। शाहीबारे छानबिनका लागि सिनियर उपरथीको नेतृत्वमा कोर्ट मार्सल गठन गरिएको छ।
उपरथी शाहीमाथिको आरोप पुष्टि भए उनलाई सजाय हुनेछ। शाहीमाथि सेनाले आर्थिक अनियमितताको आरोपमा कारबाही अगाडि बढाएको हो।
प्रारम्भिक अनुसन्धानमा दोषी रहेको ठहरपछि अदालती प्रक्रिया अगाडि बढाइएको हो। अब थप दुई अधिकारी पनि यो प्रकरणमा तानिएका छन्।
Shares
प्रतिक्रिया