समाज


मेयर बालेन्द्रलाई कसले दियो धम्की?

सचिवालय भन्छ : स्वार्थ समूहले घरमा पनि फोन गरे
मेयर बालेन्द्रलाई कसले दियो धम्की?

फाइल तस्बिर


नेपालखबर
फागुन १४, २०७९ आइतबार १७:५४, काठमाडौँ

‘मेयर पदबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन्। यो देश कहिले पनि बन्दैन,’ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले शनिबार लेखेको यही फेसबुक स्टाटसले तरङ्ग ल्याएको छ। 

३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा ठूला दलका उम्मेदवारलाई पछार्दै मेयरमा विजयी बालेन्द्रबारे देशभरबाट चासो व्यक्त हुने गरेको छ।

स्वतन्त्र उठेर मेयर जितेका स्ट्रक्चलर इन्जिनियर शाहको राजीनामा मागिएको विषयमा अहिले पक्ष विपक्ष दुवैमा प्रतिकिया आएका छन्। 

आइतबार दिउँसोसम्म उनको स्टाटसमा २२ हजार बढीले कमेन्ट गरिसकेका छन्। करिब ९ हजार जनाले यो पोस्ट सेयर गरेर भाइरल बनाइसकेका छन्। कमेन्ट गर्ने अधिकांशले मेयर शाहले उठाएको राजीनामाको विषयमा चासो राखेका छन्। 

संविधानतः नगर प्रमुखसँग राजीनामा माग्ने अधिकार कुनै निकाय वा पदाधिकारीलाई छैन। मेयरले उमपेयरलाई राजीनामा दिएमा, पदावधि समाप्त भएमा वा मृत्यु भए मात्रै उक्त पद खाली हुन्छ। 

तरंग ल्याउने उक्त स्टाटस लेखेकै दिन शनिबार अपरान्ह उनले अर्को पोस्ट लेखे। ‘अटल, अजर, अडिग, निडर,’ ५ घण्टापछि फेरि शनिबारै बालेन्द्रले लेखे,‘कसैले’नि सक्दैन। आई डन्ट गिभ अप।’

दलबाटै विजयी मेयरलाई पनि कसैले हत्तपत्त दबाब दिन सक्दैन। अझ स्वतन्त्रबाट जितेका मेयरलाई काममा झन् सजिलो हुनुपर्ने हो। स्वतन्त्रबाट जितेकाले कसैको दबाब र प्रभावबिना काम गर्न सक्ने वातावरण बालेन्द्रका लागि छ। 

यस्तोमा नगरबासीले महानगरको काम फटाफट हुने आशा गरेका छन्। तर मेयर शाहका यस्ता अभिव्यक्तिले महानगरबासीमा शंका बढाएको छ। बालेन्द्रको राजीनामा आखिर कसले माग्यो? उनलाई कसले दबाब दियो? यस्तै प्रश्नले अहिले महानगरबासीको दिमागमा डेरा गाडेको छ।

अनेक शंका उपशंकाबीच मेयर बालेन्द्रको सचिवालयले सोच विचार गरेरै सामाजिक सञ्जालमा उक्त कुरा लेखिएको दाबी गरेको छ।

‘मेयर बलेन्द्रले धमाधम निर्णय गर्दै काम गर्न खोज्नु भएको छ,’ सचिवालयका एक सदस्य भन्छन्, ‘निर्णय गर्दा स्वार्थपूर्ति नभएको वर्गले धम्क्याउन थालेका छन्।’

बालेन्द्रले धेरै विषय र मुद्दामा काम गर्न खोजे पनि सफल हुन सकेका छैनन्। फुटपाथ व्यवसायी र अवैध घर टहरा भत्काउने, अन्डर ग्राउन्ड पार्किङ कायम गर्ने, टुकुचा खोला उत्खनन, अव्यवस्थित होडिङ बोर्ड हटाउने, थापाथलीका सुकुम्बासीलाई हटाउने जस्ता निर्णय कार्यान्वयनमा चुनौती छ।

‘स्वार्थ समूहले काठमाडौं महानगर जसरी चलेको थियो, त्यसरी नै चलोस् भन्ने चाहेको छ,’ ती सचिवालय सदस्यले भने, ‘पुराना ढर्राबाट परिवर्तन गरी केही नयाँ गर्न खोज्दा सिधै धम्की आउने गरेको छ।’

सचिवालयका अनुसार मुख्यतः ३ वटा काम गर्दा स्वार्थ समूह आक्रोशित भएको मेयरको सचिवालय बताउँछ। पहिलो सडक र फुटपाथबाट हटाएका व्यवसायी, थापाथलीसँगै मनोहरा किनारका सुकम्बासी र महानगरका ठेक्काबाट सिधै फाइदा लिन नसक्नेहरुबाट व्यक्तिगत रुपमै धम्की आउने गरेको छ। 

‘बालेन्द्रलाई फोन मात्रै आउने होइन। घरमा फोन गरेरसमेत धम्की दिन थालेका छन्,’ उनले भने, ‘विभिन्न स्वार्थ समूहबाट धम्की आउन थालेपछि सामाजिक सञ्जालमा आफ्ना कुरा व्यक्त गर्नुभएको हो।’

थापाथलीको सुकुम्बासी बस्ती भत्काउन खोज्दा महानगर प्रहरीमाथि ढुंगामुढा भएको थियो। मेयर बालेन्द्रले प्रधामन्त्री र गृहमन्त्रीसँग सुरक्षाको माग गरेका थिए। 

आफूले थालेको काममा संघीय सरकारले पनि नसघाएको उनको निष्कर्ष छ। उनले महानगरको काममा साथ दिन आग्रह गरिरहेका छन्। 

बालेन्द्रले गृहमन्त्रालयलाई औपचारिक पत्र नै लेखेर थापाथलीको सुकुम्बासी बस्ती हटाउन सहयोग मागेका थिए।

‘काठमाडौं महानगरले किटानी जाहेरी दिएका व्यक्तिहरु मन्त्रीलाई खादा लगाउँदै हिड्ने, सार्वजनिक कार्यक्रममा पनि देखिने गरेका छन्,’  मेयरका अर्का सचिवलय सदस्यले भने, ‘उनैले नेताको छायामा बसेर मेयरलाई धम्की र राजीनामा माग्ने गरेका छन्।

बालेन्द्रका सचिवलय सदस्य भुपदेव शाहले मेयरलाई काम गर्न अप्ठेरो भएपछि सामाजिक सञ्जालमा लेख्नु परेको बताए।

‘काम गर्दै जाँदा स्वार्थपूर्ति नभएपछि मेयरका घरपरिवारलाई समेत मार्ने धम्की आउन थालेको छ,’ शाहले भने, ‘त्यहीकारण सर्वसाधरणले बुझ्ने गरी पब्लिक स्पेसबाटै आफ्ना कुरा सिधा राख्नु भएको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad