समाज


मेलम्चीको पानी वितरणका क्रममा उपत्यकाका सडकमा क्षति

मेलम्चीको पानी वितरणका क्रममा उपत्यकाका सडकमा क्षति

नेपालखबर
फागुन १२, २०७९ शुक्रबार १५:६, काठमाडौँ

मेलम्चीको पानी वितरणका क्रममा पाइपमा आएको चुहावटका कारण काठमाडौँ उपत्यकाका धेरै सडकमा क्षति पुगेको छ। 

खासगरी उपत्यकामा हाल पानी वितरण भइरहेका मुख्य सहरी क्षेत्रमा नै चुहावटका कारण सडकमा बढी क्षति पुगेको पाइएको छ।

खासगरी लैनचौर–महाराजगञ्ज, महाराजगञ्ज–बालाजु, त्रिपुरेश्वर–कलङ्की, ताहचल–छाउनी, नयाँ सडक, कालीमाटी–कलङ्की सडकका विभिन्न खण्ड, लगनखेल, कुपण्डोल, कुमारीपाटी, बल्खु, कालीमाटीलगायतका स्थानमा खाल्डाखुल्डी देखिएका छन्।

खाल्डाखुल्डी देखिएपछि टालिहाल्ने गरिएको भए पनि त्यस आसपासमा नयाँनयाँ चुहावट देखिरहेको देख्न सकिन्छ।

पानी चुहावटका कारण सडकमा क्षति पुगेका ठाउँमा समन्वयमा मर्मत पनि भइरहेको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ। 

कुनैकुनै भइसकेको र कतै भइरहेको डिभिजनका सूचना अधिकारी सुमित केसीले बताए। 

उनका अनुसार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पहिले पुनःस्थापना (खाल्डाखुल्डी पुर्ने काम) गरेपछि नै त्यहाँको सडक मर्मत गरिने गरिएको छ। 

लिमिटेड र कतैकतै आयोजना कार्यान्वयन निर्देशनालयले पुनःस्थापना गर्दा राम्रो काम नभएर दबिएकाले पुनः काम गर्न लगाइएको उनले बताए। 

ती निकायले तत्काल पुनःस्थापना गरेमा छिट्टै सडक बनाइने गरिएको उनले बताए। 

सडकमा पानी जमेर कमजोर भइरहेको र यसले सडकमा पछिसम्म बिग्रन सक्ने सूचना अधिकारी केसीले जानकारी दिए।

टालटुल गरेपछि पनि सडक पहिलेको जस्तो बलियो अझै नहुने उनले बताए। 

ललितपुर र भक्तपुरका तुलनामा काठमाडौँका सडकमा बढी क्षति पाइएको छ।

डिभिजनले हेरिरहेको सडकमध्ये ९० प्रतिशत स्थानमा खाल्डाखुल्डी टालिसकिएको सूचना अधिकारी केसीले बताए। उनका अनुसार गत वर्षहरुभन्दा यस वर्ष वर्षा कम खाल्डाखुल्डी हुने गरी अहिलेदेखि नै मर्मत अघि बढाइएको हो।

‘देखेसम्म काम भइरहेको छ, तर पानी र चुहावटले कति खाल्डा हुन्छ भन्ने थाहा हुँदैन।’ उनले भने।

जोरपाटी–सुन्दरीजल सडकमा धेरै पाइपलाइनमा चुहावटको समस्या आइरहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ। 

आयोजनाले बनाउनासाथ लिमिटेडले सडक खन्ने काम भइरहेको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए।

चुहावट आज एक ठाउँमा देखिएर बनाउँदा अर्को दिन अर्को ठाउँमा समस्या देखिइरहेको उनले बताए। ‘कतै सडकमै पाइपमा त कतै घरघरसम्म जाने पाइपमा समस्या देखिरहेको छ।’ उनले भने।

अहिले हरेक सडकमा नै चुहावटको समस्या रहेको सूचना अधिकारी जोशीले बताए। 

नख्खुबाट भैँसेपाटी सडक, सातदोबाटो–गोदावरी सडक, चावहिल–साँखु र भक्तपुर गरी निर्माणाधीन वा भर्खर कालोपत्र भएका सडक क्षति पुगिरहेको उनले बताए। ‘अहिले त विद्युत्को तार अण्डरग्राउण्ड गर्न पनि खन्ने काम भइरहेको छ।’ उनले भने।

सडकमा पूर्वाधार रहेका निकायका बीचमा समन्वयको कमी हुँदा उपत्यकाका सडकमा खाल्डाखुल्डी भएको भन्दै उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै समन्वयका लागि काम सुरु गरेका छन्।

नियमित समन्वयका लागि संयन्त्र बनाएको छ भने नियमित अनुगमन र बैठक भइरहेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad