नेपाल मानव धर्म सेवा समिति (काठमाडौँ) ले महाशिवरात्रीका अवसरमा गरेको रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरेका छन्।
अस्पतालमा भइरहेको रगत अभाव पूरा गर्न समितिले रक्तदान कार्यक्रम आयोजना गरेको हो।

समितिले शिवरात्रीका अवसरमा रक्तदान तथा सत्सङ कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा बोल्दै समितिकी केन्द्र प्रमुख महात्मा चमेली बाइजीले शिवरात्रीको महत्त्वबारे प्रकाश पारेकी थिइन्। उनले वेलपत्ररुपी सत, तम र रज गुण शिवलाई चढाउनुपर्ने बताउँदै मनुष्य शरीर नै साधनाको धाम भएकाले अहिले नै हामीले मोक्षको यात्रा अगाडि बढाउनुपर्नेमा पनि जोड दिइन्।

समितिकी बागमती क्षेत्र प्रमुख महात्मा लता बाइजीले भगवान शिवका आखाँले हामीलाई सधै बाह्रयमुखी हुन होइन कि अन्तर्मुखी हुन सिकाइरहेको बताइन्। भगवान् शिवले ध्यान गरेको अमरनाथको गुफा हामीभित्र नै भएकाले त्यसलाई चिनेर जीवनमा अनुशरण गर्न सके यसले हाम्रो कल्याण गर्ने बताउँदै ध्यान नै मोक्षको बाटो भएको सुनाएकी छन्।
शिव ज्ञानका प्रतिक भएकाले शिवरात्रीको समयमा सानो झिल्कोले पनि ठूलो काम गर्ने उल्लेख गर्दै महात्मा त्रिगुणा बाइजीले शिवरात्रीको दिन कालरात्रीमा ध्यान बसी बढीभन्दा बढी शक्ति प्राप्त गर्न सकिने बताइन्।
कार्यक्रममा शिवले पिएको विष र विष सेवनले संसारलाई कसरी विनाश हुनबाट बचाए भन्ने विषयमा केन्द्रित भएर बाल सभाका बालबालिकाहरुले नाटक प्रस्तुत गरेका थिए। कार्यक्रमलाई सांस्कृतिक नृत्य, भजनले कार्यक्रमलाई रोचक बनाएका थिए।
Shares

प्रतिक्रिया