शैक्षिक प्रमाणपत्र कीर्ते गरेको दाबीसहित प्रहरी नायव महानिरीक्षक (डीआईजी) अशोक सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।
एआईजीमा बढुवा प्रक्रिया अघि बढिरहेका बेला सिंहले जन्ममिति शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाएको दाबीसहित बुधबार अख्तियारमा उजुरी परेको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका सिंहले जन्म मिति सच्याउँदै नक्कली शैक्षिक योग्यताको प्रमाण पेश गरेर जागिर खाएको जिकिरसहित छानबिन गर्न अख्तियारलाई भनिएको छ।
सिंहविरुद्ध यो उजु्री काठमाडौंको बागबजार निवासी विश्वप्रकाश भेटवालले दिएका हुन्।
उजुरीमा सिंहले भारतीय शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको दाबी गरिएको छ। गृहसचिवसमेत रहेका भाइ विनोदप्रकाश सिंह नै ५७ वर्ष पुगिसकेकाले अशोक सिंह ५८ नाघिसकेको तर्क उजुरीमा गरिएको छ।
त्यसैगरी सिंहले प्रहरी निरीक्षकमा नियुक्ति लिँदा पेश गरेको शैक्षिक प्रमाण पत्र नक्कली भएको पनि जिकिर गरिएको छ। भारतको लखनउस्थित कलेजमा पढेको भनिएको शैक्षिक प्रमाण पत्र नै नक्कली रहेको दाबी उजुरीमा छ।
उनले भारतबाट लिएको शैक्षिक प्रमाणपत्र नेपालमा पुनर्जाँच पनि नगरिएको तर्क उजुरीमा छ। उजुरीमा उक्त कलेजमा पढ्दै नपढेकाले त्यो शैक्षिक प्रमाणपत्र नक्कली भएको दाबी गरिएको छ।
सिंहले उमेर पनि सच्याएको जिकिर उजुरीमा छ। उमेर सच्याएकैले उनी पदमा रहेको बताउँदै नभए ५६ वर्षे उमेर हदका कारण अवकाश भइसक्ने दाबी गरिएको छ।
डीआईजी सिंह पनि एआईजी हुँदै आईजीपीको दौडमा छन्। यही चैतमा उनकै ब्याचबाट एकजना आईजीपी हुने निश्चित छ।


Shares

प्रतिक्रिया