कारोबार


२०० मेगावाट विद्युत प्रवाहका लागि पूर्वाधार तयार, नयाँ मोदी–लेखनाथ प्रसारणलाइन सञ्चालनमा

२०० मेगावाट विद्युत प्रवाहका लागि पूर्वाधार तयार, नयाँ मोदी–लेखनाथ प्रसारणलाइन सञ्चालनमा

नेपालखबर
फागुन ३, २०७९ बुधबार १२:२९, काठमाडौँ

नयाँ मोदी (पर्वत)–लेखनाथ(कास्की) प्रसारणलाइन निर्माण सम्पन्न भएको छ। 

नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजनाअन्तर्गत ४३ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन र मोदी गाउँपालिका–२ देउपुरमा १३२ केभी स्वीचिङ स्टेसन, कास्कीको माछापुच्छ्रे गाउँपालिका–४मा १३२ केभी लाहाचोक सबस्टेसन तथा लेखनाथ सबस्टेसनको स्वीचयार्डमा १३२ केभी लाइन बे निर्माण गरिएको छ। 

पर्वत, कास्कीलगायतका जिल्लाको विद्युत आपूर्ति सुधार गर्न र मोदी, सेती, मादी तथा सर्दी नदीमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजना निर्माण गरिएको हो। 

आयोजनाअन्तर्गत पर्वतको मोदी गाउँपालिका–२ देउपुरस्थित स्वीचिङ स्टेसनबाट लाहाचोकसम्मको १३२ केभी प्रसारण लाइन र लाहाचोक सबस्टेसन गत वर्षको पुसमै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको थियो। 

लाहाचोक–लेखनाथ खण्ड प्रसारण लाइन निर्माण सम्पन्न गरी मंगलबार चार्ज गरिएसँगै नयाँ मोदी–लेखनाथ १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। 

‘कोभिड–१९को महामारी, लाहाचोक–लेखनाथ खण्डअन्तर्गत माच्छापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिको विभिन्न ठाउँका स्थानीय बासिन्दाबाट प्रसारण लाइनको रुट परिवर्तनको माग गर्दै अवरोध गर्दा निर्माण प्रभावित भएको थियो, आयोजना व्यवस्थापनको निरन्तरको प्रयास, स्थानीय तह, प्रशासनलगायत सबैको साथ र सहयोगमा समस्या समाधान गर्दै प्रसारण लाइन निर्माण सम्पन्न भएको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘त्यस क्षेत्रमा निर्माणाधीन विभिन्न जलविद्युत आयोजनाहरुबाट उत्पादित करिब २०० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा प्रवाह हुन सक्ने पूर्वाधार तयार भएको छ।’ 

जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् नयाँ मोदी र लाहाचोक सबस्टेसनमा जोडी राष्ट्रिय प्रणालीमा प्रवाह गरिनेछ। 

लाहाचोक सबस्टेसनबाट कास्कीको माछापुच्छ्रे, अन्नपूर्ण गाउँपालिका र पोखरा महानगरपालिकामा  विद्युत् आपूर्ति दिइएको छ। यसवाट त्यस क्षेत्रको विद्युत् आपूर्ति गुणस्तरीय र भरपर्दो भएको छ। पोखराबाट त्यस क्षेत्रमा विद्युत आपूर्तिको लगिएको लाइन लामो हुँदा ट्रिपिङ, लो भोल्टेज लगायतका समस्या थियो। लाहाचोक सबस्टेशनवाट आपूर्ति दिँदा त्यस क्षेत्रको विद्युत सेवा सुधार भई उपभोक्ताले भरपर्दो तथा गुणस्तरीय विद्युत् पाएको र प्राविधिक चुहावट समेत घटेको आयोजना प्रमुख रोशन अग्रवालले बताए। 

नयाँ मोदी– लेखनाथ प्रसारण लाइन आयोजनाअन्तर्गत १४० वटा टावर निर्माण गरिएको छ। लाहाचोक सबस्टेसनमा १३२÷३३ केभी, ३० एमभीए र ३३÷११ केभी, ८ एमभिएका पावर ट्रान्सफर्मरहरु रहेका छन्।सबस्टेसनमा स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि ३३ केभीका एकवटा लाइन बे र चारवटा ११  केभीका फिडरहरु निर्माण गरिएको छ। 

कुल अनुमानित लागत २ अर्ब २४ करोड रुपैयाँ रहेको आयोजनामा नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र आयात–निर्यात (एक्जिम) बैक, भारतको सहुलियतपूर्ण ऋण रहेको छ। 

प्रसारणलाइन र सबस्टेसन निर्माणका लागि ७ असार २०७५ मा क्रमशः कलपत्रु पावर ट्रान्समिसन लिमिटेड, भारत र हिताची इनर्जी लिमिटेड (एबीबी), भारतसँग ठेक्का सम्झौता भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad