ad ad

समाज


यी ७ डीआईजीमध्ये ५ जनालाई एआईजीमा बढुवा गर्ने तयारी

यी ७ डीआईजीमध्ये ५ जनालाई एआईजीमा बढुवा गर्ने तयारी

नेपालखबर
माघ २६, २०७९ बिहिबार २२:३०, काठमाडौँ

सरकारले नेपाल प्रहरीमा ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको तयारी गरेको छ। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह यूएईबाट फर्किएपछि बढुवा सिफारिस समितिको बैठक बस्ने तयारी रहेको गृह मन्त्रालय स्रोतले जनाएको छ।

लामो सयमदेखि रिक्त एआईजी बढुवा छिट्टै हुने गृहसचिव विनोदप्रकाश सिंहले बताए। 

‘अहिले आईजीपी बाहिर भएकाले हो। उहाँ फर्किएपछि बैठक बसेर सिफारिस हुन्छ, ठ्याक्कै मिति त भन्न सकिएन,’ गृहसचिव सिंहले नेपालखबरसँग भने। 

माघ २३ गते आईजीपी सिंह यूएई गएका छन्। २४ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको इन्टरपोलको २४ औं एसियाली क्षेत्रीय सम्मेलन बिहीबार सम्पन्न भएको छ।

उनी फर्किएसँगै बढुवा सिफारिस समितिको बैठक बस्ने तयारी छ। 

बुधबार मात्रै सशस्त्र प्रहरीका ४ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस भएका छन्। सशस्त्र प्रहरीमा पनि लामो समयदेखि डीआईजी बढुवा हुन सकेको थिएन। 

नेपाल प्रहरीमा भने ६ महिनादेखि एआईजी रिक्त छ। आगामी चैतमा अहिले एआईजी बन्ने मध्यबाटै आईजीपी हुने भएकाले सरकारले त्यसअघि नै एआईजी बढुवा गर्ने तयारी गरेको हो। 

आगामी साता एआईजी पूजा सिंह पनि अवकाशमा जानेछिन्। सिंह फागुन ३ गते अवकाश भएसँगै नेपाल प्रहरीमा रिक्त एआईजीको संख्या ५ पुग्नेछ। यसअघि विश्वराज पोखरेल, मुकुन्दराज आचार्य, अरुणकुमार बिसी र रवीन्द्र धानुक अवकाश भएका थिए। 

तर ४ एआईजी रिक्त हुँदा पनि एआईजी बढुवा गरिएको थिएन। एआईजीका दाबेदारलाई निवर्तमान गृहमन्त्री रवि लामिछानेले प्रदेशमा सरुवा गरेका थिए। लामिछाने गृहमन्त्रीबाट हटिसकेका छन्। लामिछाने हटेसँगै तत्काल एआईजी बढुवा अगाडि बढाउने तयारी सरकारको छ। हाल गृह मन्त्रालयको पनि जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै छ। 

प्रधानमन्त्री तत्काल एआईजी बढुवा गर्नु पर्ने पक्षमा छन्। एआईजी बढुवाको विषयमा प्रधानमन्त्री प्रचण्ड र आईजीपी सिंहबीच यसअघि नै छलफल भइसकेको छ। 

आईजीपी सिंहकै ब्याची ३ जना रहे पनि उनीहरुलाई भने अवकाशको मुखमा बढुवा गर्ने सम्भावना देखिएको छैन। मसाउद आलम खाँ, नलप्रसाद उपाध्याय र मोहनकुमार आचार्य आगामी चैत ११ गते अनिवार्य अवकाश हुनेछन्। 

यसअघि ३० वर्षे सेवा अवधि हटाउने प्रक्रिया अगाडि बढाइएको भए पनि बीचमा सरकार परिवर्तन भएपछि यो प्रक्रिया रोकिएको छ। ३० वर्षे नहटे आईजीपीसँगै ३ एआईजी र ३ डीआईजी पनि अवकाश हुनेछन्। 

एआईजीहरु सहकुल थापा, उत्तम सुवेदी र दिवेश लोहनी पनि आईजीपीसँगै घर जानेछन्। 

तर सरकारले त्यसअघि नै रिक्त हुने दरबन्दीमा ५ जनालाई एआईजीमा बढुवा गर्ने तयारी गरेको छ। डीआईजीहरु वसन्त कुँवर, टेकप्रसाद राई, अशोक सिंह र दीपक थापा बढुवा हुने करिब निश्चित छ। यस्तै श्यामलाल ज्ञवाली, किरण बज्रचार्य र मीरा चौधरी मध्येबाट पनि एक जना बढुवा हुनेछन्।

वसन्त कुँवर मधेश प्रदेशको प्रहरी प्रमुख छन् भने टेकप्रसाद राई लुम्बिनी, अशोक सिंह सूदुरपश्चिम र दीपक थापा बागमती प्रदेशको प्रहरी प्रमुख छन्। श्यामलाल ज्ञवाली प्रदेश १ मा, किरण बज्रचार्य प्रशासन विभागमा र मीरा चौधरी ट्राफिक प्रमुख छन्। 

अघिल्लो सरकारले वसन्त, टेकप्रसाद, अशोक र दीपकलाई वरीयतामा अगाडि राख्दै डीआईजीमा बढुवा गरेको थियो। त्यतिबेला फड्को मारेका अशोक सिंह यसपटक पनि नछुट्ने गरी लबिइङमा छन्। 

अहिले छुटेका मध्येबाट चैतपछि मात्रै एआईजी हुनेछन्। तर अहिले एआईजीमा बढुवा हुनेको भने आईजीपी बन्ने सम्भावना कायम रहन्छ। यीमध्ये दीपक थापा ५ महिनापछि भर्ना भएका हुन्। यस पटक अरु नै आईजीपी बने पनि उनी त्यसपछि छोटो समयका लागि आईजीपी बन्ने सम्भावना कायम रहन्छ। 

बढुवाका प्रमुख दाबेदार ६ जना २०५१ चैतमा र थापा २०५२ भदौमा प्रहरी निरीक्षकमा भर्ना भएका हुन्। २०५१ मा भर्ना भएका अधिकारी मध्येबाट आईजीपी बने २०७९ चैतदेखि २०८१ चैत ५ सम्म प्रहरीको नेतृत्व गर्नेछन्। त्यसअघि प्रहरी ऐन संशोधन नभए उनीहरु ३० वर्षे सेवाहदका कारण अवकाश हुनेछन्। 

सम्भावना कम भए पनि एआईजी बढुवाका लागि डीआईजीहरु भीमप्रसाद ढकाल, सुदीप गिरी, रामदत्त जोशी, पोषराज पोख्रेल, बुद्धिराज गुरुङ, सन्दीप भण्डारी, दुर्गा सिंह, किरण राणा, उमेशराज जोशी र टेकबहादुर तामाङ पनि दाबेदार हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .