समाज


अझै खुलेनन् सर्लाहीका छोटी भन्सार कार्यालय

अझै खुलेनन् सर्लाहीका छोटी भन्सार कार्यालय

फाइल तस्बिर।


नेपालखबर
पुस ३०, २०७९ शनिबार १८:१९, काठमाडौँ

द्वन्द्वको कारण देखाउँदै बन्द गरिएका सर्लाहीका छोटी भन्सार कार्यालय अझैँ सञ्चालनमा आउन सकेका छैनन्। सञ्चालनमा आउन नसक्दा सिमानाकाबाट भन्सार छली तथा चोरी तस्करी बढेको छ।

छिमेकी देश भारतसँग ५१ किलोमिटर खुला सिमानामा जोडिएको जिल्लामा सातवटा छोटी भन्सार कार्यालय छन्। एउटा मुख्य भन्सार कार्यालय रहेको छ। सबै छोटी भन्सार कार्यालय बन्द छन् । गोरखकाली नाकामा रहेको मुख्य भन्सार कार्यालय मात्र हाल सञ्चालनमा छ।

छोटी भन्सार कार्यालय बन्द हुँदा जिल्लाका साना व्यापारी मारमा परेका छन्। छिमेकी देश भारतसँग खुला सिमाना हुनु र नजिकै नेपाली बजार नहुँदा दैनिक उपभोग्य सामग्रीका लागि  भारतीय बजारमाथि भर पर्नुपर्ने हुँदा सीमा क्षेत्रका साना व्यापारी तथा स्थानीयवासी मारमा परेका स्थानीय जानकार उमाशङ्कर साहले बताए।

जिल्लाका साना व्यापारीले छोटी भन्सारको बाटो भएर सामान्य र सानो परिमाणमा सामान ल्याउनुपर्दा पनि भन्सार बुझाउन जिल्ला भन्सार कार्यालयमै पुग्नुपर्ने बाध्यता छ।

जिल्लाका सात छोटी भन्सार कार्यालय सञ्चालन नहुँदासमेत सरोकारवाला निकाय मौन छ। भारतसँग खुला सिमाना जोडिएका सग्राममपुर, पर्सा, त्रिभुवननगर, भाँडसर, फेन्हरा, बारा उद्योरण र बलरा छोटी भन्सार कार्यालय र मलङ्गवामा जिल्ला भन्सार कार्यालय अहिले बन्द छन्।

छोटी भन्सार कार्यालय बन्द हुँदा जिल्लामा तस्करी मौलाएको र राजस्व पनि कम उठ्न थालेको स्थानीय रधुनाथ यादवले बताए। व्यापारीले सामानको राजस्व नतिर्ने गरेको पाइएको छ। पछिल्लो समय त्रिभुवननगर र बलरामा रहेका छोटी भन्सार कार्यालयमा कार्यालय सहयोगी राखेर छोटी भन्सार कार्यालय सञ्चालनमा ल्याइएको छ। 

छोटी भन्सार कार्यालय बन्द हुँदा राजस्वमा ह्रास आएको जिल्ला भन्सार कार्यालयका प्रमुख दीपेन्द्रकुमार झाले बताए।

माथिल्लो तहबाट छोटी भन्सार कार्यालय सञ्चालनका लागि कुनै निर्देशन नआएको र आफूहरुले मात्रै निर्णय गरेर कार्यालय खुलाउनसक्ने अवस्था नरहेको उनको भनाइ छ।

सीमा क्षेत्रमा हुने गरेका तस्करीका सामान सुरक्षाकर्मीले नियन्त्रणमा लिएर जिल्ला भन्सार कार्यालयमै बुझाउने गरेका कारण पनि छोटी भन्सार कार्यालयको खासै काम नरहेको कार्यालय प्रमुख झाले बताए। 

छोटी भन्सार कार्यालय बन्द हुँदा तस्करी बढेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए। उनका अनुसार यसरी भित्रिएका सामान जिल्लाका सुरक्षाकर्मीले नियन्त्रणमा लिएर भन्सार बुझाउँदा भन्सार कार्यालयले धेरै कम मूल्याङ्कन गर्ने गरेको पाइएको छ। 

भारसँगको खुला सिमानामा ११ स्थानमा सशस्त्र प्रहरी बलका पोष्ट तथा २० स्थानमा नेपाल प्रहरीका पोष्ट राखिएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad