समाज


अकुत सम्पत्ति कमाएको आरोपमा यातायात व्यवस्था कार्यालयका अधिकृतविरुद्ध मुद्दा दायर

अकुत सम्पत्ति कमाएको आरोपमा यातायात व्यवस्था कार्यालयका अधिकृतविरुद्ध मुद्दा दायर

नेपालखबर
पुस २९, २०७९ शुक्रबार २०:४, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धानले गैरकानूनीरुपमा अकुत सम्पत्ति कमाएको अभियोगमा शाखा अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।
    
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र सुकेधारा चाबहिलका तत्कालीन निमित्त कार्यालय प्रमुख पोखरेल हाल राष्ट्रिय भमि आयोग, ताहाचलका कार्यरत छन्। 

पोखरेलले स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरीमाथि आयोगले छानविन गरेको हो। आयोगका अनुसार पोखरेल २०४६ असार १ गते सार्वजनिक सेवामा प्रवेश गरेका थिए। आयोगले २०७८ फागुन १५ गतेसम्म सिर्जना गरेको सम्पत्ति, खर्च र लगानीको अध्ययन गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

पोखरेलले कूल रु तीन करोड ३१ लाख ५५ हजार ६२ बराबरको आय आर्जन गरेको पाइएको छ। घरजग्गा बिक्री, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषबाट लिएको कर्जा आय, घर बहाल आय, बीमा, विदेशबाट पठाएको विप्रेषण, मोटरसाइकल बिक्री, शेयर बिक्री र कृषि आय हिसाब गरिएको छ।

सोही अवधिमा पोखरेलले रु चार करोड ३७ लाख ८८ हजार चार सय दुई बराबरको लगानी गरेको पाइएको छ। आम्दानी र खर्च तथा लगानीमा रु एक करोड छ लाख ३३ हजार तीन सय ३९ बराबरको भागको स्रोत खुल्न नसकेको आयोगले जनाएको छ।

आयोगले गैरकानुनीरुपमा पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरेर स्रोत नखुलेको सम्पत्ति विमला न्यौपाने पोखरेलको नाममा समेत लगानी गरेको पाइएको जनाएको छ। 

न्यौपानेको नाममा जग्गा खरिद, घर निर्माण, शेयर खरिद तथा बैंक खातामा रकम मौज्दात राखेको पाइएकाले स्रोत नखुलेको सम्पत्ति बराबरको बिगो जफत गर्न माग गरेको छ। आयोगले श्रीमान्, श्रीमती दुवैलाई बिगोअनुसारको सम्पत्ति जफत र जरिवानाकोसमेत माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad