नुवाकोट सबै क्रसर तथा बालुवा प्रशोधन उद्योग अवैध पाइएको छ।
गृह मन्त्रालयको पुस २० को निर्देशनपछि पुस २४ मा गठित अनुगमन समितिले जिल्लाका क्रसर र बालुवा प्रशोधन उद्योगमा ताला लगाएको हो।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालका अनुसार क्रसर उद्योग कानुनी मापदण्डअनुरुप सञ्चालनको अवस्था बुझ्न सहायक प्रजिअको नेतृत्वमा अनुगमन समिति गठन गरिएको थियो।
समितिको अनुगमनपछि हालसम्म २२ मा उद्योगमा ताला लगाएको छ।
'अनुगमनमा अवैध पाइएकाले प्रक्रिया पूरा नभएसम्म ताला (सिल गरिएको) लगाइएको छ', प्रजिअ रिसालले भने, 'उद्योग सञ्चालन गर्न तोकिएका मापदण्डको प्रशस्त उल्लङ्घन भएको पाइएपछि सिधै सिल गरिएको हो। कानुनी आधार पूरा गरेर सम्पर्कमा आउन पत्र दिइएको छ।'
अनुगमनका क्रममा यसअघि निर्बाध सञ्चालनमा रहेका क्रसर उद्योगको समेत मापदण्ड पूरा नभएको पाइएको छ।
केही उद्योग दर्ता नै नभई सञ्चालन गरिएकाले बन्द गरिएको उल्लेख छ। अनुगमनका क्रममा ताला लगाइएको २२ उद्योगमध्ये चारवटा उद्योग दर्ता नै नगरी सञ्चालनमा रहेको पाइएको छ। एउटा उद्योगको नाम र सञ्चालकसमेत पत्ता लगाउन नसकेको प्रजिअ रिसालले बताए।
'दर्ता भएका उद्योगको कानुनी सञ्चालनको मापदण्ड अनुगमनमा जाँदा दर्ता नै नभएका उद्योगहरु समेत सञ्चालनमा देखियो', उनले भने, 'दर्ता गरिएको छैन, निर्माण सामग्री अवैध रुपमा भित्र्याइएको छ । राजस्व छली गरेर राज्यलाई लाखौँ नोक्सान बनाउने दर्ता नभएका उद्योगको उपकरण जफतको तयारी गरेका छौँ।'
नुवाकोटमा विदुर र बेलकोटगढी नगरपालिकासहित जिल्लाको लिखु, तारकेश्वर, तादी, ककनी लगायतका गाउँपालिकाको नदी र खोला तथा खानीलाई लक्षित गरेर क्रसर र बालुवा प्रशोधन उद्योग सञ्चालनमा थियो।
Shares
प्रतिक्रिया