उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
बिहीबार उच्च अदालतका न्यायाधीश ध्रुवराज भट्टराई र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
धरौटीमा रिहा भएपनि लामिछानेलाई विभिन्न शर्त राखिएको छ। यस्तै लामिछाने विदेश जान नपाउने भएका छन्। अन्य शर्तसहित २० पेज लामो आदेश उच्च अदालतले गरेको छ।
आदेशमा भनिएको छ, ‘प्रस्तुत मुद्दाको फैसला नभएसम्मको लागि प्रतिवादीलाई नेपालबाहिर जान रोक लगाइएको छ। प्रतिवादीको नाउँमा जारी भएको राहदानी रोक्का गर्नु र प्रतिवादीलाई विदेश जानबाट रोक लगाइएको यस आदेशको कार्यन्वयन गर्नु भनि यथाशिघ्र नेपाल सरकार गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयमा लेखि पठाउनु।’
यस्तै जाहेरवालाको सम्बन्धमा वा विचाराधीन मुद्दाको विषयमा कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय वा सार्वजनिक सञ्चार माध्यम वा सामाजिक संजालमा कुनै टिका टिप्पणी वा धारणा व्यक्त गर्न पनि रोक लगाइएको छ।
जाहेरवाला वा उनका परिवारसँग सम्पर्क गर्न वा कुनै पनि माध्यमबाट भेटघाट गर्न पनि अदालतले निशेध गर्न आदेश दिएको छ।
Shares

प्रतिक्रिया