समाज


पहिलोपटक काठमाडौँ आए, उत्कृष्ट किसानको पुरस्कार पाए

पहिलोपटक काठमाडौँ आए, उत्कृष्ट किसानको पुरस्कार पाए

नेपालखबर
पुस २१, २०७९ बिहिबार १८:२९, काठमाडौँ

लोपोन्मुख जाति राउटे समुदाय पुर्ख्यौली पेसा काठका भाँडाकुँडा निर्माणसँगै कृषि पेसामा जोडिन थालेको छ। कृषिमा आबद्ध एक राउटे किसान उत्कृष्ट किसानका रूपमा पुरस्कृतसमेत भएका छन्। 

आज काठमाडौँमा आयोजित कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडले डडेल्धुराका राउटे किसान लालसिंह राउटेलाई  उत्कृष्ट किसानका रूपमा पुरस्कार दिएको हो। सिंहले डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकास्थित कटला–४ मा सरकारबाट प्राप्त पाँच रोपनी र अधियाको तीन रोपनी जग्गामा खेती तथा पशुपालन गरिरहेका छन्। 

‘तीन वर्षदेखि बाख्रा र भैँसी पाल्दै छु, काठको काम पनि गर्छु। पहिले आम्दानीको स्रोत काठको ज्याला मजदुरी मात्र हुन्थ्यो। अहिले दुवै काम गर्न भ्याएको छु’, उनले भने। बत्तीस वर्षे सिंहले औपचारिक अध्ययन गर्न नपाए पनि पुर्ख्यौली सीप र कृषि पेसाले आम्दानीको स्रोत बढेको बताए। कृषिबाट धेरै आम्दानी नभए पनि दैनिकी सहज बनेको उनको भनाइ छ। उनले यही पेसाबाट पाँच जनाको परिवार पालिरहेका छन्। 

पुरस्कार ग्रहण गर्न काठमाडौँ आएका उनले काठमाडौँ पहिलोपटक भ्रमण गरेको बताए। ‘पुरस्कार पाएको छु। आफ्नो देशको (पुरानो) राजधानी हेर्ने अवसरसमेत जुर्‍यो। सिंहदरबार हेर्न पाउँदा खुसी लागेको छ’, उनले भने। 

बाल्यकालमा भारतको शिमलासम्म पुगेको बताउने सिंहलाई आफ्नो देशको पुरानो राजधानी हेर्न पाउँदा तीन दिनको बसाइ धेरै छोटो लागेको बताए। ‘पशुपतिनाथ मन्दिरसम्म दर्शन गर्न मन थियो। तर समय अभावका कारण फर्किँदै छु। फेरि दोस्रोपटक काठमाडौँ घुम्न आउनेछु।’ बाख्रापालन, तरकारी खेती र गँहु उत्पादनबाट धेरै आम्दानी नभए पनि जीविका राम्राेसँग भइरहेको उनको भनाइ छ। 

डडेल्धुरा कटलाका शीर्ष साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष वीरेन्द्र विष्टले सिंहलाई काठमाडौँसम्म आउन सहजीकरण गरे। ‘राउटे समुदाय कार्यक्रममा आउन असहज महसुस गर्छ। अरुजस्तै उहाँले पनि आउन मान्नुभएको थिएन। उहाँलाई काठमाडौँ सहर घुम्न पाइन्छ भनेपछि आउनुभयो’, विष्टले भने। 

काठका काममा ज्याला मजदुरी गर्ने राउटे समुदायमा आम्दानीका लागि कृषि पेसाप्रति आकर्षण बढ्दै गएको हो। सिंहसँगै डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकास्थित कटला–४ मा कृषिमा आबद्ध ६७ जना सहकारीमा जोडिएका छन्। तर थोरै राउटे किसान मात्र निर्वाहमुखी व्यावसायिक कृषिमा आबद्ध छन्। 

राउटे समुदायका कतिपय युवा रोजगारका लागि भारत जाने र कतिपय सरकारी भत्तामा निर्भर भएको उनले बताए। उनले भने, ‘भत्ता आउँछ भन्दै त्यसमै भर पर्ने धेरै हुनुहुन्छ। जसले गर्दा उहाँहरूलाई सिर्जनशील बनाउन सकिएको छैन। व्यवसाय र रोजगारीप्रति उहाँहरूको सहभागिता बढाउन सकिएको छैन।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad