यतिबेला (बिहीबार बिहान) प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा आंशिक बदली (आकाशमा थोरै बादल) रही तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ भने बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भेगमा आंशिक बदलीको अवस्था रहनेछ। प्रदेश १ को हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
बुलेटिनअनुसार आज राति प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली (धेरैजसो आकाश बादलले ढाकेको) रही बाँकी प्रदेशका पहाडी भेगमा आंशिक बदलीको अवस्था रहनेछ। प्रदेश १ र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
काठमाडौँ उपत्यकाको तापक्रम बढ्यो
काठमाडौँ न्यूनतम उपत्यकाको तापक्रम हिजो बुधबारको तुलनामा आज बिहीबार झन्डै २ डिग्री बढेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार आज काठमाडौँ उपत्यकाकको न्यूनतम तापक्रम ५ डिग्रीमा उक्लिएको हो। हिजो उपत्यकाको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस थियो।
मौसमविद् पौडेलका अनुसार राति आकाशमा बादल लाग्यो भने तथा बिहानीपख हुस्सु लाग्यो भने न्यूनतम तापक्रम बढ्छ भने मौसम सफा हुँदा न्यूनतम तापक्रम घट्छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ : प्रदेश १ र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। तराईका केही भूभागमा हुस्सु/कुहिरो लाग्ने र दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन अनुरोध छ।
Shares

प्रतिक्रिया