ad ad

समाज


मदन भण्डारी राजमार्गको रुटमा विवाद, सर्भे रोकियो, यातायात ठप्प

मदन भण्डारी राजमार्गको रुटमा विवाद, सर्भे रोकियो, यातायात ठप्प

नेपालखबर
पुस ९, २०७६ बुधबार ७:४६,

स्थानीयवासीबीच सडक रुटमा सहमति नजुट्दा पश्चिम सुर्खेतमा मदन भण्डारी राजमार्गको सर्भे रोकिएको छ।

सालकोट–बाबियाचौर खण्डको विवाद उत्कर्षमा पुगेपछि स्थानीयवासीले बड्डीचौर–गुटु सडकखण्ड अवरुद्ध पारेका छन्। स्थानीयवासीको अवरोधका कारण राजमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) का लागि भइरहेको सर्भे रोकिएको हो।

राजमार्ग सालकोट र बाबियाचौर कुन स्थानबाट लैजाने भन्ने विषयमा स्थानीयवासीबीच सहमति जुट्न सकेको छैन। पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले संघीय सडक बोर्डले साधारण मार्ग खोलिएका दुईलाई राजमार्ग र सहायक मार्ग भनेर छुट्याउन नसक्दा विवाद बढेको बताए।

स्थानीयस्तरमा विवाद बढेपछि सडक बोर्ड र यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय सांसदले सहजीकरण गर्नुपर्ने उनको सुझाब छ। नगर प्रमुख थापाका अनुसार पञ्चपुरी २ बेनीघाटदेखि वडा नं ६ जाने र वडा नं ३ को सालकोट हुँदै वडा नं ९ को विद्यापुर जोड्ने सडकमा विवाद देखिएको छ।

पञ्चपुरी–५ का अध्यक्ष होमबहादुर रामजालीले विवाद समाधानका लागि तल्लो र माथिल्लो बस्तीका बासिन्दासँग छलफल अघि बढाइएको जनाए। उनले छोटो दूरी, वन क्षेत्रमा पर्ने असरका साथै अधिग्रहण गर्नुपर्ने घरजग्गा कम भएको स्थानलाई छनोट गर्नुपर्ने बताए। ‘सहमतिका लागि स्थानीयस्तरमा प्रयास भइराखेको छ, धेरै दिन सर्भे रोकिनुहुन्न भन्नेमा हामी जनप्रतिनिधि सचेत छौँ”, उनले भने। डीपीआर तयार गर्ने जिम्मा सिल्टर सीआरसी र जिओकम जेभी ललितपुरले पाएको छ।

आन्दोलित स्थानीयवासीले पञ्चपुरी –२ खम्बागाडे–सालकोट–चतुरे बाबियाचौरसम्म सर्भे हुनुपर्ने माग गरेका छन्। असन्तुष्ट स्थानीयवासीले संघर्ष समिति गठन गरेर सर्भे रोक्नाका साथै उक्त खण्डमा चल्ने सवारीसाधन ठप्प पारेका छन्। संघर्ष समितिका संयोजक झक्कबहादुर सिँजापतिले बढी जनसंख्या भएको क्षेत्र राष्ट्रिय राजमार्गबाट लाभान्वित हुनुपर्ने तर्क गरे। उनले आफूहरुको माग पूरा नभए आन्दोलन जारी राख्ने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .