समाज


सरकारले नै बादी युवतीलाई यौन व्यवसायमा लाग्न बाध्य पारेको आरोप

सरकारले नै बादी युवतीलाई यौन व्यवसायमा लाग्न बाध्य पारेको आरोप

नेपालखबर
पुस ६, २०७९ बुधबार १३:४६, काठमाडौँ

समुदायका युवतीहरूले सरकारले आफूहरूलाई शिक्षामा विभेद गरेको बताएका छन्। सरकारले बादी समुदायका छोरीहरूलाई सहयोग नगरेको गुनासो उनीहरूले गरेका छन्। 

कुनै संस्थाले पढाउँदा पनि कक्षा १० पछि संस्थाले पढाउन नपाउने कानुन हुँदा पढिरहेका बादी युवती पनि यौन व्यवसायमा फर्किनुपरेको उनीहरूको भनाइ छ। 

काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै बादी समुदायबाट पहिलोपटक व्यापारमा स्नातकोत्तर गरिरहेकी देवीसरा बादी तथा अधिवक्ता बनेकी सीता बादीले व्यवस्था बदलिए पनि बादी समुदायको अवस्था नबदिलिएको बताइन्। 

सुर्खेतको झुप्रा खोलाबाट लाइट हाउस नामक संस्थाले काठमाडौँ ल्याएर पढाइ दिएपछि आफैँ व्यापार गरिरहेकी देवीसराले सरकार सहयोगी बन्ला भन्दा उल्टो बादी युवतीहरूलाई यौन व्यवसायमा लाग्न बाध्य बनाइरहेको आरोप लगाइन्। 

‘पहिला हाम्रा आमा–दिदीहरू अशिक्षाका कारण यौन व्यवसायमा लाग्ने गरेको भए पनि पछिल्लो समयमा शिक्षा हासिल गरे पनि आर्थिक कारणले उच्च शिक्षा पाएका बहिनीहरू घर खर्चका लागि यौन व्यवसायमा लागिरहेका छन्’, उनले भनिन्। 

नेपालका ग्रामीण क्षेत्रमा अहिले पनि एक प्याकेट बिस्कुटका लागि आफ्नो शरीर सुम्पनपर्ने अवस्था रहेको देवीसराको भनाइ छ। 
तीनै तहका सरकार बादी समुदायका समस्याप्रति उदासीन बनेका कारण बादी समुदायका समस्या जस्ताको तस्तै भएको जानकारहरू बताउँछन्। 

कार्यक्रममा बोल्दै देवीसरा र सीता बादीले २०६२ सालको उमा बादीहरूले गरेको पेटिकोट आन्दोलनको स्मरण गर्दे फेरि बादी महिलाले सिंहदरबार घेर्न पर्ने अवस्था आएको बताइन्। 

नेपालका ३५ जिल्लामा बसोबास गर्ने बादी समुदायको जनसंख्या ७० हजार छ। २०४६ सालभन्दा पहिला पूर्ण रूपमा फिरेन्ते जातिका रूपमा रहेको बादी समुदाय पछिल्लो समय खोला किनारमा सुकुमबासीका रूपमा बसोबास गरिरहेको छ। 

अब पनि सरकार उदासीन भए बादी समुदायका हजारौँ युवती भारतका विभिन्न सहरमा यौनकर्मीका रूपमा जान सक्नेतर्फ कार्यक्रमका वक्ताहरूले सरकारको ध्यानाकर्षण गराए। आर्थिक अवस्थाका कारण यौन व्यवसाय अपनाइरहेका बादी युवतीको पुनःस्थापनाका लागि काम गर्न सरकारलाई उनीहरूले अपिल गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .